
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
फ्लाई दुबईको उडानबाट काठमाडौंबाट दुबई जान लागेका थाइल्याण्डका नागरिक ३८ वर्षका पोङफोज सिन्सुवानलाई प्रहरीले पक्राउ गरेको हो । उनले बोकेको झोला चेकजाँच गर्ने क्रममा ५८ हजार ४०० अस्ट्रेलियन डलर र १५ हजार ७०० अमेरिकी डलर भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले अवैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा विदेशी मुद्रा फेला परेपछि आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सिन्सुवानलाई राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।