
दशैं तिहारलगायतका पर्वमा हुनसक्ने आपराधिक घटनालाई लक्षित गरेर रूपन्देही प्रहरीले विशेष सुरक्षा योजना ल्याएको छ । जिल्लाको शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले चाडपर्व अवधिभर १ हजार २४८ जना प्रहरी परिचालन गरेको रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उपरीक्षक रेग्मीका अनुसार चाडपर्वमा हुन सक्ने विसंगति, विकृतिविरुद्ध प्रहरी परिचालन गरिने छ । प्रहरीले सीमा एरियामा कडा चेकजाँचको व्यवस्था गरी अवैध गतिविधि रोक्ने दाबी गरेको छ । प्रत्येक प्रहरी इकाइमा प्रहरी टोली क्वीक रेस्पोन्स टिम (क्यूआरटी) को रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाइने छ ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार सादा पोशाकका प्रहरी परिचालन गरिने छ । जुवा, चन्दालगायतका गतिविधिहरूको गोप्य रुपमा सूचना संकलन गरी कारबाहीको दायरामा ल्याउने प्रहरीले जानकारी दिएको छ । यस्तै राजमार्ग लक्षित गरी रातिको समयमा गस्ती बढाउने योजना रहेको डीएसपी श्यामु अर्यालले जनाए । बन्द रहने सरकारी कार्यालय, तथा संघ–संस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरूसँग समन्वयसहितको सुरक्षा व्यवस्था मिलाइने उनले जनाए ।
प्रहरीले विभिन्न युनिटहरूले विगतमा आ–आफ्ना एरियामा घटेका घटनाहरूलाई मध्यनजर राखी पैदल, साइकल, मोटर साइकल र गाडी गस्ती परिचालन गरिने छ । बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । विभिन्न मठ मन्दिर, पूजा अर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरू ल्याउने र विर्सजन गर्ने समयमा सुरक्षा ब्यवस्था मिलाइने उनले जनाए । यस्तै तिहारमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्ने समय निर्धारण गरिएको अर्यालले जानकारी दिए ।