२१ असार २०८३, आइतबार

दशैंघरमा राखियो जमरा [फाेटाेसहित]

दशैंघरमा राखियो जमरा [फाेटाेसहित]

काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत रुपमा जमरा राखिएको छ । सोमवारबाट विधिवत रूपमा शुरू भएको नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरी विधिवत रूपमा जमरा राखिएको हो ।

हनुमान ढोकास्थित दशैंघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत बिहान १०ः२३ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो ।

दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा घर-घरमा जमरा राख्ने प्रचलन छ । यसदिन बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँघरमा जमरा छर्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ । 

नवरात्रीभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजार्चना गरिन्छ । जमरा राखेपछि हनुमान ढोका दरबारका पूजारी सागर खरेलले नियमपूर्वक मन्त्रोच्चारण गरी घटस्थापना र जमरा राखिएको बताए । 

विशेषतः जमरा जौ को राख्ने गरिन्छ । तर आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ । 

salt training

कमेन्ट गर्नुहोस्