धादिङ १९ साउन– आफ्नै कार्यालय नभएपछि धादिङको नीलकण्ठ नगरपालिकाको काम जिल्ला समन्वय समिति धादिङको ढोका अगाडि त्रिपालमुनिबाट संचालन गरिएको छ । बुधवारदेखि नगरपालिकाको काम सडकमा भइरहेको छ ।
धादिङबेसीको बीचबजारमा भाडामा संचालन हुँदै आएको नगरपालिकाको कार्यालय जिल्ला समन्वय समितिको कार्यालय भवनबाट संचानल गर्न खोज्दा स्थानीय प्रशासनले रोक लगाएपछि समितिको ढोका अगाडि त्रिपालबाट संचालन गरिएको नीलकण्ठका मेयर भीमप्रसाद ढुंङ्गानाले लोकान्तरलाई जानकारी दिए ।
‘नगरपालिका कार्यालय भाडामा संचालन हुँदा जनतालाई सेवा दिन समस्या भएपछि बोर्ड बैठकबाट पारित गरेर जिल्ला समन्वय समितिलार्इ कार्यालय उपलब्ध गराइदिन आग्रह गरेका थियौं,’ मेयर ढुङ्गानाले लोकान्तरसँग भने, ‘मागको सुनुवाइ नभएपछि हामीले समन्वय समितिको प्रवेशद्वारबाटै सेवा दिएका छौं ।’ स्थानीय विकास मन्त्रालयबाट समन्वय गरेर कार्यालय चलाउनु भनेर पत्र आउँदा समेत प्रशासनले बेवास्ता गरेको मेयर ढुङगानाले गुनासो गरे ।

लामो समयदेखि नगरपालिकाको कामकाज भाडाको घरबाट संचालन हुँदा जनताको करबाट उठेको लाखौं रुपैयाँ रकम भाडा तिर्दा खर्च हुने गरेको तथा नगरपालिकाको दमकल, सेप्टी ट्याङ्की सफा गर्ने मेशिन लगायतका सवारी साधन र अन्य सामाग्री राख्ने ठाउँ नभएकोले कार्यालय संचालन गर्न समस्या हुँदै आएको ढुंगानाले बताए ।
स्थानीय प्रशासनले भने हालको जिल्ला समन्वय समितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेकाले समितिभित्र प्रवेश गर्न नदिएको बताउँछ । प्रमुख जिल्ला अधिकारी महेश आचार्यले निर्वाचन अधिकृतको कार्यालय रहेका कारण जिससको कार्यालय उपलव्ध गराउन नसकिएको लोकान्तरलाई बताए ।

बुधवार नीलकण्ठ नगरपालिकाका मेयर सहित कर्मचारीहरुको टोली मेच टेबुल बोकेरै जिल्ला समन्वय समितिको कार्यालय बाहिर पुगेको थियो । त्यसक्रममा केहीबेर तनाव भएको थियो । तर स्थानीय प्रशासनले प्रहरी परिचालन गरी समन्वय समितिको ढोकाबाट भित्र प्रवेश गर्न रोक लगाएको थियो ।
नगरपालिका कार्यालय सडकबाट सञ्चालन गरिंदा आफूहरुलाई समस्या परेको सेवाग्राहीले गुनासो गरेका छन् ।