भदौ ४, २०८०
सुकरातको मुद्दा, उनको मृत्यु र अद्भूत विचार शीर्षकको पुस्तकमा उनका आत्माकथाकार प्लेटोले उल्लेख गरेका थिए, मोटो ओठ र थेप्चो नाक भएको कुरूप अनुहारको मान्छे इसापूर्व चौथो शताब्दीतिर युनानको एथेन्स नगरको सडकमा घुमि...
असोज १८, २०७९
सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारितामा आएको थिएँ । पत्रकार सम्मेलनमा उपस्थित परिचित पत्रकारहरूलाई नाम सोधी–सोधी प्रश्न गर्न दिइयो । नयाँले प्रश्न सोध्न पाउने सम्भावना कम थियो ।
प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनु मेरो पहिलो अवसर थियो । म पछाडि बसेको थिएँ । प्रश्न सोध्ने काम सकियो भनेर पत्रकार सम्मेलन सम्पन्न गर्न लागिएको थियो । म पछाडिबाट जोडदार ढंगले बोलें– मेरो एउटा फरक प्रश्न छ ।
प्रधानमन्त्रीले अनुमति दिए– भन्नुस्, के छ ?
‘प्रधानमन्त्रीज्यू नेपालको राजनीतिबारे विदेशी राजदूतहरू बोलिरहेका छन्, राजदूतहरूको अभिव्यक्तिलाई कसरी लिनुभएको छ ?’ सूर्यबहादुरले कड्किएर जवाफ दिन थाले । अहिले जति टेलिभिजन त थिएनन्, तर भएका टेलिभिजनका लागि मैले सोधेको प्रश्नको जवाफ नै हेडलाइन न्युज बनेको थियो ।
सूर्यबहादुरले दशैंको बेला केही पत्रकारलाई ‘लञ्च’का लागि बोलाएका थिए, आफ्नै निवास मालीगाउँमा । प्रचण्ड प्रधानमन्त्री रहेको समयमा मैले फेरि त्यस्तै प्रश्न सोधेको थिएँ । प्रचण्डलाई ‘राजकाज चलाउन अनुभव नभएको’ भनेर उनले सटिक टिप्पणी गरेका थिए । यो पनि चर्चाको विषय बन्यो ।
आफ्नो जन्मदिनमा पनि उनले प्रायः राजनीतिक बिटका पत्रकारलाई लञ्चमा बोलाउँथे । आखिरी दिनमा पनि उनले आफ्नो ‘पर्सनालिटी’ कायम राखेका थिए । उनको बोलाइमा बोल्डसेन थियो ।
****
डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए । सरकारको १०० दिनको कार्यक्रम सार्वजनिक गर्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । भ्रष्टाचार र अपराधविरुद्ध ‘जेरो टलरेन्स’को नारा दिइएको थियो । बाबुराम सरकारका गृहमन्त्री थिए, विजयकुमार गच्छदार । केही दिन पहिले मात्र गुण्डागर्दीमा नाम चलेका गणेश लामा गच्छदारको लोकतान्त्रिक फोरममा प्रवेश गरेका थिए ।
चर्चामा रहेका गणेश लामाको विषयलाई लिएर मैले प्रधानमन्त्रीलाई प्रश्न सोधेँ– एकातर्फ अपराधप्रति शून्य सहनशीलता भन्नुहुन्छ, अर्कातर्फ तपाईंको गृहमन्त्रीले गुण्डालाई संरक्षण गर्ने, अनि शून्य सहनशीलता भन्ने ? मेरो प्रश्नले हलमा एकछिन सन्नाटा छायो ।
प्रधानमन्त्री भट्टराईले जवाफ फर्काए, ‘रत्नाकर डाँकु पनि बाल्मिकी बनेको इतिहास छ । कसैले सुध्रिन चाहन्छ भने मौका दिनुपर्छ ।’ मैले प्रश्न सोध्दा गच्छदारले घोरिएर कर्के नजरले मतिर हेरेका थिए । साथीहरू भने यस्ता गुण्डा गणेश लामाको बारेमा प्रश्न नसोध्नु भन्थे । उमेरका कारण होला त्यो बेला दिमागमा डर थिएन । जे होस्, पत्रकार सम्मेलनमा सोधेको त्यो प्रश्न ‘न्युज मेकर’ थियो ।
****
नेपालमा पहिलो संविधानसभा कालखण्डमा झलनाथ खनाल प्रधानमन्त्री रहेको समयमा भारतीय विदेशमन्त्री प्रणव मुखर्जी नेपाल भ्रमणमा आएका थिए ।
संसद् भवन नयाँ बानेश्वरमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङलगायत केही पदाधिकारीलाई भेटेर बाहिर निस्किँदै गर्दा मुखर्जीलाई मैले प्रश्न सोधेको थिएँ ।
संविधान नबने के हुन्छ ? यस्तै खालको प्रश्न थियो । उनले घुमाउरो जवाफ दिएका थिए, त्यो पनि हेडलाइन समाचार भएको थियो ।
पहिलो संविधानसभाको कालखण्डमा मैले गरेका केही प्रश्नले नेताहरूको कन्सिरी तताउने काम गरेका थिए ।
संविधानसभाका बैठकको नियमित रिपोर्टिङ गर्ने भएकाले म प्रायः संसद्मा उपस्थित हुन्थें । संविधानमा ‘बहुलवाद’ शब्द राख्ने कि नराख्ने भन्ने विषयमा संवैधानिक समिति मातहतको उच्चस्तरीय विवाद समाधान समितिमा छलफल भइरहेको थियो ।
संविधानसभाको कार्यकालको अन्तिमतिर एउटा मोडमा पुगेर प्रचण्ड संविधानमा बहुलवाद राख्न सहमत भए, तर माओवादीको मोहन वैद्य खेमा सहमत थिएन । समितिमा वैद्य समूहको प्रतिनिधित्व देव गुरुङले गर्थे । प्रचण्डले बुहलवादमा सहमति जनाइसकेपछि मैले गुरुङलाई ‘तपाईंहरू बहुलवादमा सहमत हुनु भयो रे नि !’ भनेर प्रश्न सोधेको थिएँ ।
जवाफमा गुरुङ यसरी पड्किए कि त्यो साताभरी नै चर्चाको विषय भयो । ‘बहुलवाद या वितण्डतावाद मानिन्नँ, संविधान च्यातिन्छ’ भनेर गुरुङले बोलेको कुरा टेलिभिजनको समाचार मात्र होइन, पत्रपत्रिकाले सम्पादकीय लेखे । चियागफका क्रममा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान लेखनको वातावरण बिग्रने भन्दै गुरुङलाई यस्ता प्रश्न नगरिदिन आग्रह गरेका थिए ।
****
प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बनेको समय २०६५ कात्तिक महिनामा दशैंको बेला ऋषि धमलाको रिपोटर्स क्लबले मल्ल होटलमा गिरिजाप्रसाद कोइरालासँग कार्यक्रम राखेको थियो । चियापान कार्यक्रमका लागि भनेर कोइरालालाई बोलाइएको रहेछ, ‘चियापान भनेर बोलाएर, प्रश्न गर्ने ?’ भन्दै कोइराला कड्किए । पछि केही बोल्दिनुपर्यो भन्दा कोइराला सहमत भए । त्यो दिन सोधेको प्रश्न पनि हेडलाइन समाचार भएको थियो ।
पहिलो संविधान सभाको एक वर्षमै सरकार गुमाएको झोंकमा संसददेखि सडकसम्म माओवादीले अनेक तिकडम गर्ने गरेको थियो ।
चुनावअघिको सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोेइरालाले ‘योङ क्रिमिनल लिग’ भनेर नामकरण गरिदिएपछि माओवादीले वाईसीएल विघटन गरेको थियो । प्रचण्ड सरकार ढलेर बनेको कांग्रेस एमालेको सरकार (माधव नेपाल प्रधानमन्त्री)को पालामा माओवादीले फेरि वाईसीएल ब्युताउने निर्णय गर्यो । माओवादीले वाईसीएल ब्युँताउने निर्णय गरेपछि अन्य दल सशंकित थए ।
नेपाली कांग्रेस संसदीय दलका नेता रहेका रामचन्द्र पौडेललाई मैले सोधेको थिएँ– माओवादीले वाईसीएस ब्युँताउने निर्णय गरेपछि अब तपाईंहरू के गर्नुहुन्छ ? देव गुरुङलाई माथ गर्नेगरी पौडेल कड्किए । त्यो अर्को हेडलाइन समाचार बनेको थियो ।
पहिलो संविधानसभा असफल भएपछि स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने विषयमा छलफल भइरहेको थियो । सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउन भित्रभित्रै सहमति भएपनि दलका नेताहरू खुलेर बोल्न चाहिरहेका थिएनन् । कांग्रेस सभापति सुशील कोइरालाले धुलिखेलमा गएर आफूहरू ट्र्यापमा परेको बताएका थिए ।
नेकपा एमालेले केन्द्रीय कमिटी बैठकपछि पार्टी केन्द्रीय कार्यालय बल्खुमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । त्यतिबेलाको राजनीतिक विषयलाई लिएर अध्यक्ष झलनाथ खनाललाई मैले एउटा प्रश्न सोधेको थिएँ । त्यो प्रश्नको जवाफ दिन खनाललाई पसिना आयो । पत्रकार सम्मेलन सकिएपछि बल्खुमा आयोजित चिपायानमा ईश्वर पोखरेल ‘हाम्रा अध्यक्षलाई यस्तो अप्ठ्यारो पर्ने प्रश्न गर्दिने ?’ भनेर मलाई धाप मार्न आएका थिए । खासमा त्यो प्रश्नबाट पोखरेललगायत नेताहरू भित्रभित्रै प्रसन्न थिए ।
२०७० सालमा दोस्रो संविधानसभा चुनाव भएपछि पनि संविधान लेखन प्रक्रियाले गति लिन सकेको थिएन । संविधान सभाको राजनीतिक संवाद समितिको बैठकबाट बाहिरिने क्रममा तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालालाई मैले चर्को स्वरमा प्रश्न गरें, ‘प्रधानमन्त्रीज्यू ! दोस्रो संविधानसभाले पनि संविधान बनाउन नसक्ने भयो भन्ने टिप्पणी सुनिन थाल्यो नि !’ शुरूमा मिडियासँग नबोल्ने भन्दै बम्किएर हिँडेका कोइराला फनक्क फर्केर जंगिदै जवाफ दिन थाले, ‘कसले भन्यो संविधान बन्दैन भनेर ? संविधान बन्दैन भन्नेहरू षड्यन्त्रकारी हुन् । हामी बनाउँछौं, तपाईं मिडियाका साथीहरू नकारात्मक कुरा नगर्नुस् ।’
माधव नेपाल नेतृत्वको सरकारमा विद्या भण्डारी रक्षामन्त्री थिइन् । माओवादी लडाकूलाई सेनामा समायोजन गर्ने नगर्नेमा दलहरूबीच कित्ताकाट थियो । रक्षा मन्त्रालयमा भण्डारीले एकदिन पत्रकार सम्मेलन राखेकी थिइन् । मैले सोधें, ‘माओवादी लडाकूलाई सेनामा समायोजन गर्नेबारे तपाईंको दृष्टिकोण के हो ?’
भण्डारीले जवाफ फर्काइन्, ‘समायोजन त हुँदैन, तर उनीहरू व्यक्तिगत रूपमा सेनामा भर्ना हुन चाहे भने विगतमा माओवादी आन्दोलनमा लागेको भनेर पूर्वाग्रह राखिँदैन । व्यक्तिगत योग्यताका आधारमा उनीहरूलाई सेनामा भर्ना हुन रोकिँदैन ।’
त्यो बेला ब्रिटिस गोर्खा मिडियाले काठमाडौंमा सञ्चालन गरेको एफएम रेडियोमा साँझ साढे ७ बजे दैनिक टक शो चलाउँथें । त्यो दिन साँझ मेरो अतिथि थिए, अहिलेका सभामुख अग्नि सापकोटा ।
विद्या भण्डारीले दिएको हेडलाइन न्युजकै आधारमा त्यो कार्यक्रममा अग्निले विद्याको अभिव्यक्ति शान्ति प्रक्रिया भाँड्ने खालको भएको भन्दै आक्रोश पोखेका थिए । अहिलेजस्तो बर्गेल्ती टेलिभिजन थिएनन्, युट्युबको जमाना आइसकेको थिएन ।
त्यो बेला एफएम रेडियोको जमाना थियो । गरमागरम डिबेट गराउने भएकाले मेरो कार्यक्रमका स्रोता धेरै थिए ।
राष्ट्रपति निर्वाचनको समयमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र त्यो बेला माओवादीका प्रभावशाली नेता रहेका टोपबहादुर रायमाझीलाई एकै ठाउँ भिडाएको थिएँ ।
उनीहरूबीचको बाझाबाझ चर्चाको विषय बनेको थियो । त्यसको भोलिपल्ट मैले एमालेका नेता गोकर्ण विष्ट र लेखक खगेन्द्र संग्रौलासँग संवाद गरेको थिएँ ।
मेरो कार्यक्रमलाई लिएर भोलिपल्ट खगेन्द्र संग्रौलाले नयाँ पत्रिकामा लेख लेखेका थिए, ‘गोर्खा एफएमको एक अग्नि संवाद कार्यक्रम’बाट उनले आफ्नो लेख शुरूआत गरेका थिए ।
गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवासम्म, केपी ओली, झलनाथ खनालदेखि माधव नेपालसम्मलाई सार्वजनिक स्थलमा कयौं प्रश्न गरें । प्रचण्डदेखि बाबुराम भट्टराई र मोहन वैद्यसम्मलाई सार्वजनिक स्थानमा कयौं अप्ठ्यारा प्रश्न गरियो । नेपालमा आन्दोलनको पृष्ठभूमिमा आएका भारतीय नेताहरू सीताराम यचुरीदेखि नेपालको शान्ति प्रक्रियामा सघाउन आएको राष्ट्र संघीय नियोगका इयान मार्टिनसम्मलाई तीखा प्रश्न सोधियो ।
जोश, जाँगर र उमेरका कारण पनि नेताहरूलाई अक्करमा पार्ने प्रश्न गरियो । कुनै राजनीतिक दलमा नलागेका कारण मलाई नेताहरूसँग प्रश्न गर्न कुनै संकोच थिएन । मैले सोधेको प्रश्नले कयौँपटक टेलिभिजनहरूमा हेडलाइन समाचार बनेको छ । व्यक्तिगत स्वार्थ केही थिएन, केवल राजनीति सही ट्र्याकमा हिँडोस् र संविधान बनोस् भन्ने अभिप्राय थियो ।
कति धेरै जान्ने हुन परेको हो भन्लान् भनेर एकदिन बैठकपछि म चुप लागेर बसें । नेपाल टेलिभिजनका पत्रकारले सोधे, ‘नेताज्यू बैठकको बारे प्रकाश पारिदिनुस् न !’ यति नरम प्रश्नको नेताले के जवाफ दिन्थे ? उनीहरूलाई त्यस्तै कडा प्रश्न सोध्नुपर्यो । अन्यथा उनीहरूबाट टालटुले जवाफ आउँथ्यो । अर्थात्, समाचार बन्दैनथ्यो । चर्को प्रश्न सोधेपछि प्रचण्ड पनि बोल्न बाध्य हुन्थे ।
राजाका मन्त्रीहरूलाई प्रश्न
डेढ दशक लामो पत्रकारिकाताका दौरान त्यसमा पनि २०७३ सालसम्म ठूला महत्त्वका कार्यक्रममा धेरै नै प्रश्न सोधियो । राजाको प्रत्यक्ष शासनको समयमा उनका समर्थक र मन्त्रीहरूलाई धेरै प्रश्न सोधियो । ऋषि धमलाको एकाधिकार तोड्न भन्दै खुलेका सञ्चार समूह, संवाद क्लब, फोरम फर इन्टेलेक्चुअल डिबेट लगायतका संस्थाले राजाका मन्त्रीहरूलाई बोलाउँथे । उनीहरूलाई प्रश्न गर्न मजा आउँथ्यो ।
राजाको प्रत्यक्ष शासनको समर्थन गर्ने पूर्वप्रधानसेनापति सच्चित शमशेर राणासँग मैले गरेको प्रश्न सञ्चार माध्यमको हेडलाइन बनेको थियो । प्रसंग तत्कालीन राजा ज्ञानेन्द्रले गोकर्ण रिसोर्टमा नागरिक अगुवासँग गरेको छलफलको विषय थियो । राजनीतिक दलका नेता छाडेर नागरिक समाजका अगुवालाई भेटेर राजाले संवाद गरेका थिए ।
राजाको मन्त्रिपरिषद्का उपाध्यक्ष तुल्सी गिरीदेखि राजाको सरकारका प्रवक्ता टंक ढकाललाई यस्तै प्रश्न सोधियो । राजाको प्रत्यक्ष शासनको समयमा मण्डले मन्त्रीहरूलाई सोध्ने मात्र होइन मैले घटना र विचार साप्ताहिकमा एउटा लेख लेखेको थिएँ, ‘श्री ५ गाउँमा बाँदर आतंक बढेछ !’ शीर्षकमा । मेरो लेख पढेका एकजना मन्त्रीले मलाई अप्ठ्यारो पर्ने प्रश्न नगर्नु भनेर भनेका थिए ।
धेरै वर्षपछि पछिल्लो पटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मैले प्रश्न सोधें । माओवादीको महाधिवेशनको अघिल्लो दिन गत पुस २३ गते हिमालय होटलमा सम्पादकहरूसँगको कार्यक्रम थियो ।
‘एकातर्फ चुनावबाट पहिलो पार्टी बन्छौं पनि भन्ने, अर्कातर्फ यो निर्वाचन प्रणाली अनुसार चुनाव लड्न नसकिने भयो भनेर पूर्णसमानुपातिक निर्वाचन प्रणालीको वकालत गर्ने, यो विरोधाभाष के हो ?’ भनेर मैले सोधेंको थिए ।
अनि प्रश्न गर्न छाडें
नाम नखुलाऔं, तर एकजना नेताले प्रश्न सोधेकै भरमा मसँग कडा प्रतिशोध लिएका थिए । कुनै एक कार्यक्रममा प्रतिष्पर्धी दलको नेतालाई प्रश्न सोधेको आधारमा उनले मप्रति प्रतिशोध लिएका थिए । म नभएको बेला संसद् रिपोर्टिङ गर्ने पत्रकारहरूसँग उनले ‘फलनाले मविरुद्ध यस्तो प्रश्न सोधेछ’ भनेका थिए ।
कुनै पनि दलमा आवद्ध नभएका कारण राजनीतिक दलका नेतासँग आग्रह पूर्वाग्रह रहने कुरै भएन । तर पत्रकार सम्मेलनमा पुगेपछि प्रश्न सोध्नुपर्छ, त्यो पनि अलि क्रान्तिकारी भन्ने लाग्थ्यो ।
जहिलेसम्म म नेपालको राजनीतिको निर्णय नेपालका नेताहरूले नै गर्छन्, भन्ने विश्वास राख्थें या भ्रममा थिएँ, त्यो दिनसम्म नेताहरूलाई तीखा प्रश्न सोधेँ । मलाई भ्रम थियो, संविधान सभाले बनाएको कार्यतालिका र प्रक्रियाअनुसार संविधान लेखिन्छ । तर, त्यसो हुन सकेन । किनकि त्यसको साँचो नेपालका नेतासँग थिएन ।
जब मलाई नेपालका नेतासँग आत्मनिर्णयको अधिकार छैन, कसैको इशारामा चल्न विवश छन् भन्ने थाहा भयो, त्यो विन्दुबाट प्रश्न गर्ने जाँगर हरायो । मेरो यो निष्कर्ष सबैले स्वीकार्नुपर्छ भन्ने जरुरी छैन ।
दलका एकजना प्रभावशाली नेताले भनेको एउटा शब्दले मेरो चेत खुल्यो । संविधान जारी गर्ने बेला एक जिम्मेवार नेताले भनेका थिए, ‘नेपाल अझै पनि आत्मनिर्णय गर्ने अवस्थामा पुगेको रहेनछ, हामी सार्वभौम छैनौं ।’
यो कुरा मैले नेपालका दुई प्रधानमन्त्रीले गरेको भारत भ्रमणको क्रममा महसूस गरेको थिएँ । भारतमा जाँदा उनीहरू यति नतमस्तक हुन्छन् कि कुनै जुत्ता खोलेर पुकार गर्न मन्दिरमा पुगेको तीर्थालु जस्तो ।
यहाँ वामपन्थी गठबन्धन या लोकतान्त्रिक गठबन्धन बनाउने त्यो यहाँका नेताको बुतामा भएको विषय हुँदै होइन । विगतमा नेतालाई सोधेका प्रश्न सम्झेर कहिले काहीँ आफैंलाई हाँसो उठ्छ ।
सुकरातको मुद्दा, उनको मृत्यु र अद्भूत विचार शीर्षकको पुस्तकमा उनका आत्माकथाकार प्लेटोले उल्लेख गरेका थिए, मोटो ओठ र थेप्चो नाक भएको कुरूप अनुहारको मान्छे इसापूर्व चौथो शताब्दीतिर युनानको एथेन्स नगरको सडकमा घुमि...
विज्ञान र सूचना प्रविधिमा आएको तुफानी क्रान्तिले भविष्यमा मान्छेको प्रजाति पनि प्रविधिमय बन्नेछ । आधुनिक मिडियालाई परम्परागत भन्दै न्यु मिडियामा आकर्षित मान्छे विस्तारै हजारौं, लाखौं माइलको फिजिकल यात्राका रोमाञ्चक...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मानिसको बानी व्यवहारमा उसले उपयोग गर्ने साधन र प्रविधिले प्रभाव पारेको हुन्छ । प्रविधिसँगै सूचनाको पहुँचले ज्ञान र चेतनामा तहल्का मच्चाएको छ । समाज दूरीविहीन छ । सूचना र समाचार प्रत्यक्ष हेर्न र दोहोरो कुरा गर्न...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...