
दशैं आउनैलाग्दा अधिकांश पेशाकर्मी घर जाने वा दशैं योजना बनाउन व्यस्त छन् तर पत्रकार, प्रहरी र डाक्टर भने बिदाभन्दा पनि दशैंको समयमा अफिसमा कसरी व्यवस्थापन गर्ने भन्ने सोचिरहेका छन् ।
एक जना पत्रकारले दशैं बिदाको विषयमा कार्यालयमा छलफल हुँदाको कुरा सुनाउँदै भने, ‘यसपालि अलि लामो बिदा बसौंला भनेर बिदा मागेको २३ गते चुनावको मनोनयन भएको भन्दै बिदा दिन अफिसले अस्वीकर गर्यो । वर्ष दिनमा आउने दशैंमा पनि बिदा नपाइने भयो ।’
ती पत्रकारलाई फूलपातीदेखि १५ दिनको बिदामा बस्नुपर्ने थियो तर पेशागत बाध्यताले बस्न पाएनन् ।
सधैं दशैं आउँदा यस्तो अवस्था मिडिया हाउसमा सामान्यझै हुन् । अझ मिडियामा नयाँ आउने व्यक्तिले यस्तो नियती भोग्नैपर्छ । कान्तिपुर टेलिभिजनका सञ्चारकर्मी सरोज थापा यस्तै मध्येका हुन् ।
अरु दशैं मनाउन घर जाने योजना बनाइरहँदा सञ्चारकर्मी थापा समाचार पढ्नका लागि स्टुडियोमा छिर्ने भएका छन् । उनको यसपालिको दशैं मात्रै होइन, पत्रकारिताको १० वर्षसम्म उनी धेरैपटक घर जान नपाएर स्टुडियोमा छिरेका छन् ।
पत्रकारिता शुरू गरेपछि कैयौ दशैं मनाउन पाएका छैनन् उनले । त्यो शृंखला यसपालि पनि जारी हुनेछ । अहिले उनी पहिला–पहिला जस्तो खल्लो मान्ने र खिन्न हुने गर्दैनन् ।
‘पत्रकारितामा लागेपछि दशैंतिहार लगायतका चाडपर्व आए जस्तै लाग्दैन, किनकी हिजो जस्तो स्वतन्त्र भएर अहिले चाडपर्व मनाउन सकिने अवस्था छैन,’ थापाले लोकान्तरसँगको कुराकानीमा भने, ‘पत्रकारितामा भिजेपछि पारिवारिक भेटघाट छोट्टिँदो रहेछ ।’

कहिलेकाहीँ कुनै चाडवर्पमा बिदा बस्दा पनि स्वतन्त्र भएर चाड मनाउन नसकिने अवस्था रहेको थापाले बताए ।
पत्रकारिता क्षेत्रमा लागेपछि सधैं ‘हाईअलर्ट’मा बस्नुपर्ने, देशमा के घटना भइरहेको छ भन्ने विषयमा जानकारी लिन मन लाग्ने, अरु साथीले के स्टोरी गरे भन्ने विषयमा जानकारी लिन मन लाग्ने भएकाले स्वतन्त्र भएर बिदा बस्न नसकिने थापाको अनुभव छ ।
पत्रकारिताका क्रममा चाडपर्वमा समय छुट्याउन नपाइने भएकाले परिवारले पनि अपेक्षा गर्न छाडेका उनले बताए । ‘तर पनि अरु बाहिर जाने, सपिङ गर्ने भन्ने कुराहरू सुन्दा कहिलेकाहीँ खिन्न नहुने भन्ने पनि होइन तर पेशाको बाध्यता छ,’ थापाले लोकान्तरसँग भने ।
बाल्यकालको दशैं स्मरण गर्दै सञ्चारकर्मी थापा भन्छन्, ‘त्यतिबेला दशैं साँच्चै दशैं थियो । घर सरसफाइ र रंगरोगनमा लाग्ने, पिङ खेल्ने, खाना बनाउने, नयाँ कपडा लगाउने, टीका लगाउँदा कसले कस्तो आशिर्वाद दियो भन्ने कुराले पनि रमाइलो लाग्थ्यो ।’
उनले थपे, ‘त्यो बेला दशैंमा नयाँ लुगा किन्ने भन्ने कुराले निकै रमाइलो हुन्थ्यो र पिताजी (बुवा) भारतीय सेनामा भएकाले बुवा आउने दशैंमा निकै उल्लास हुन्थ्यो ।’ दशैंमा बुवा आउने भनेपछि तीजदेखि नै दिन गनेर बस्ने गरेको स्मरण सञ्चारकर्मी थापाले सुनाए ।
‘घरमा हजुरबुवा प्यारालाइसेस हुनुहुन्थ्यो । भाइबहिनी, हजुरआमा र ममी (आमा) थियौं । बुवा नआउने दशैंमा हजुरआमा रोएको अहिले पनि झल्झली याद आउँछ,’ थापाले विगत स्मरण गर्दै भने, ‘‘तर बुवा आउने भएपछि ती सबै दृश्यहरू हराउने भएकाले सधैं बुवा दशैंमा आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो ।’
दशैंको समयमा गुल्मीको चारपाला देवीस्थानमा रहेको दरबार कोटमा सरायँ खेल हेर्न गएको र जेरी खाएको सम्झिँदा अहिले पनि याद ताजा हुने र मुख रसाउने गरेको थापाले बताए ।
‘दशैंमा चर्के पिङ, जेरी र सरायँको सम्झनाले अहिले पनि बच्चापनको याद ताजा बनाउँछ भने त्यो दशैंको जस्तो जेरीको यादले मुख रसाउँछ,’ सञ्चारकर्मी थापाले लोकान्तरसँग भने ।
सञ्चारकर्मी रुपा खड्काको भोगाइ पनि यस्तै छ । विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रुपा यसपालि दशैंमा घरभन्दा पनि स्टुडियोमा छिर्ने छिन् । एपीवान टेलिभिजनमा प्रस्तोता तथा समाचार वाचक प्रमुखको रूपमा काम गर्ने रुपालाई पनि आफ्नो पेशाले दशैंमा घर जानेभन्दा पनि स्टूडियोभित्रै तान्यो ।
२० वर्षको पत्रकारितामा उनले कैयौ दशैमा घर जान पाइनन् । ‘पत्रकारिताको शुरूआती समयमा घर जान नपाउँदा मन खिन्न भएर बसेर रोऔं कि भन्ने हुन्थ्यो तर अहिले बानी परिसक्यो,’ उनले भनिन् ।

अहिले पेशाका कारणले परिवारले पनि आफ्नो कार्यक्रमलाई थाती राख्दा नरमाइलो लाग्ने बताइन् । ‘शुरूआती दिनमा निकै नरमाइलो लाग्थ्यो तर अहिले युज टू भइएछ । परिवारले पनि आफ्नो कारणले कार्यक्रमहरू स्थगित गर्नुहुन्छ,’ सञ्चारकर्मी रुपाले लोकान्तरसँगको कुराकानीमा भनिन्, ‘अहिले त हामीले चाडपर्वमा आउँदा अरु जस्तै स्वतन्त्र भएर मनाउनुपर्छ भन्ने भावना नै हराएछ ।’
विगत सम्झिँदै रुपाले भनिन्, ‘अहिले परिवारले पेशाको अवस्थालाई बुझ्नुभएको छ तर शुरूआती दिनमा ‘तिमी भर्खर नयाँ आएको दशैंमा बिदा बस्न पाउँदिनौ’भन्दा झण्डै रोएकी छु ।’
त्यो बेला काठमाडौंबाट फूलपातीका दिन नुवाकोट जाने गरेको उनले सम्झिइन् । ‘घरमा परिवार सबै बस चढेर जाँदा निकै रमाइलो हुन्थ्यो । नयाँ कपडा किनेर गाउँमा जाँदाको रमाइलो र मजा छुट्टै हुन्थ्यो,’ रुपाले लोकान्तरसँग भनिन्, ‘त्यो बेलामा १० दिनसम्म दशैंका नयाँ लुगा, खानेकुरा, टीका, पिङभन्दा अरु दिमागमा आउँदैनथ्यो ।’
दशैंमा गाउँका साथीभाइसँग समय बिताउन निकै रमाइलो लाग्ने गरेको उनले सम्झिइन् । ती यादहरू सम्झिँदा ताजा हुने तर समयले विगतलाई सम्झनामा मात्रै सीमित गरेको रुपाले सुनाइन् ।
‘मामा घरमा पिङ हाल्नुहुन्थ्यो । त्यसका लागि दगुरेर जान्थ्यौं । आमाहरूले दशैंको दिन भूइँ छोड्नुपर्छ भन्नुहुन्थ्यो । म पनि पिङ जोडी खेल्थें तर एक पटक लडेपछि अहिलेसम्म पनि पिङ खेल्न डर लाग्छ,’ सञ्चारकर्मी रुपाले अनुभव सुनाउँदै भनिन्, ‘त्यो बेला दशैंमा मन पर्ने दक्षिणा हो । मामा घर, काकाको घरमा जाँदा ५० रुपैयाँ दिन्छन् भन्ने सोचेर जाने तर ५–१० रुपैयाँ मात्र दिँदा ह्या किन आएछौं भन्दै फर्किएका कुराहरूको याद आउँदा अहिले पनि बालापन ताजा हुने गरेको छ ।’

सञ्चारकर्मी रुपालाई दशैंमा बासी खसीको मासु निकै मन पर्थ्यो । टीका लगाउन जाँदा मासुको लोभ लाग्यो, अहिले पनि उनी त्यो बेलाको मासुको स्वाद जिब्रोमा आउने गरेको बताउँछिन् ।
‘दशैंमा अहिले पनि जिब्रोमै स्वाद आउने भनेको दशैंको बासी खसीको मासु हो । टीका लगाउँदा मागेरै खान्थें । अरु चाहिँदैन, मासु दिनु न भनेको अहिले पनि याद आउँछ,’ रुपाले विगत सम्झिँदै भनिन् ।
अहिले झापा जिल्लामा उनको विवाह भएको छ । घर काठमाडौंबाट टाढा भएका कारण अफिसमा बिदा नहुने भएकाले नयाँ दशैं अनुभव नभएको उनले बताइन् ।