
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित नमूना भञ्ज्याङका अग्निपीडित २ घरपरिवारलाई राहत उपलब्ध गराइएको छ ।
सोमवार दिउँसो लागेको आगोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेपछि बिचल्लीमा परेका स्थानीय राजन सार्की र उनका छोरा सन्तोष सार्कीको परिवारलाई विभिन्न निकायबाट संकलित राहत मंगलवार उपलब्ध गराइएको हो ।
अग्निपीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय खोटाङले नगद १५ हजार, खोटाङ उद्योग वाणिज्य संघ र खोटाङ यातायात प्रालिले १०/१० हजार नगद तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले २ त्रिपाल, ८ वटा कम्बल, २ वटा बाल्टिन, २ परिकारका लागि आवश्यक भाँडावर्तन, ४ साडी तथा पाइन्ट र कुर्तासुरुवालको कपडा प्रदान गरेको छ ।
हलेसी तुवाचुङ नगरपालिकाकी नगर प्रमुख विमला राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईं र रेडक्रसका जिल्ला सभापति ज्ञानेन्द्र जोशीले घटनास्थल पुगेर संयुक्तरूपमा राहत वितरण गरेका छन् ।
अग्निपीडित परिवारका लागि राहत वितरण गर्न जिल्ला प्रशासन र रेडक्रसको टोली घटनास्थलमै पुगेको थियो भने खोटाङ यातायात प्रालिले प्रमुख जिल्ला अधिकारीमार्फत र उद्योग वाणिज्य संघले रेडक्रसमार्फत राहत रकम पठाएका थिए । राहत वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङ, सशस्त्र प्रहरी बल हलेसी गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक श्याम रावत, वडाध्यक्ष टेकराज राई लगायतको उपस्थिति रहेको थियो ।
अग्निपीडित दुवै परिवारलाई जस्तापाताको व्यवस्थापन नगरपालिकाले गरिदिने र आवास निर्माणका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने नगर प्रमुख राईले आश्वासन दिए । अग्निपीडित परिवारलाई वडाले तत्कालै महिनादिन पुग्ने खाद्यान्न र भाँडाकुँडाको व्यवस्थापन गरे पनि बासबस्ने ठाउँ अभाव भएपछि आफन्तको घरमा राखिएको वडाध्यक्ष राईले जानकारी दिए ।