०५ साउन २०८३, मंगलबार

सन् २०२२ मा नौ लाख भन्दा बढी पर्यटक भित्र्याउने श्रीलंकाको योजना

सन् २०२२ मा नौ लाख भन्दा बढी पर्यटक भित्र्याउने श्रीलंकाको योजना

श्रीलंका सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ । श्रीलंकाको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले हालैको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्था फर्काउने दिशामा काम गरिरहेकाले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको हो ।

प्राधिकरण प्रमुख प्रियन्था फर्नान्डोले सन् २०२२ को अन्त्यसम्ममा श्रीलंकाले कम्तीमा ९ लाख ७२ हजार ४७५ पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिए । उनले भने, ‘नकारात्मकताको विरुद्ध लड्दै गर्दा पछिल्लो नौ महिनाको आगमनको आँकडाबाट हामी खुसी छैनौं । यो एक क्रमिक निर्माण हो र वर्षको अन्त्यसम्ममा हामीले धेरैभन्दा धेरै पर्यटक भित्र्याउने योजनामा प्रतिवद्ध छौँ ।’

उनले भने, ‘सरकार र सरकारमातहतका निकायले सार्वजनिक तथा निजी सहकार्यलाई जोड दिँदै वर्षको बाँकी महिनामा विदेशी पर्यटकको चाप बढाउने प्रयास भइरहेको छ ।’

श्रीलंकाका प्रमुख स्रोत बजारहरूले लगाएको यात्रा प्रतिबन्धहरू खुकुलो भए पनि सेप्टेम्बरमा मात्र २९ हजार ८०२ विदेशी पर्यटकहरूको आगमन भएको र यहाँको राजनीति, आर्थिक संकट र यसबाट प्रभावित पर्यटन सेवामा भारी प्रभाव देखिएको छ । 

पर्यटन उद्योगका जानकारहरूका अनुसार पर्यटन क्षेत्रको पुनरुत्थानमा देश यस क्षेत्रका प्रतिस्पर्धीहरु भन्दा निकै पछाडि छ । माल्दिभ्सजस्ता प्रतिस्पर्धी मुलुकले विगत केही महिनादेखि मासिक रूपमा एक लाखभन्दा बढी पर्यटकलाई स्वागत गर्दै आएका छन् भने श्रीलङ्कामा ३० हजारदेखि ६० हजारसम्म पर्यटक आउने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

श्रीलंकाको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने स्रोतमध्येको एक पर्यटन क्षेत्र कोभिड–१९ महामारी र यसको आर्थिक तथा राजनीतिक संकटका कारण धरापमा परेको छ । 

salt training

कमेन्ट गर्नुहोस्