०८ असार २०८३, सोमबार

लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न

लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न

मंगलवारदेखि लगातार परेको वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी नरैनापुरको वडा नं. १ बनियाँगाउँ, ४ को घोडदौरिया, ५ को जमुनहा, ६ को दोधरा क्षेत्रमा रहेका घरहरूमा पानी पसेपछि जनजीवन प्रभावित बनेको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

गाउँपालिका अध्यक्ष शाहले वर्षाले नरैनापुर आसपासका विभिन्न वडाहरू जलमग्न हुनुका साथै दर्जनौं बढी घरमा पानी पसेको जानकारी दिए । उनले भने, ‘विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ, यकिन तथ्यांक संकलन गर्न वडाध्यक्षसहित म टोल–टोलको अनुगमन गरी रहेको छु ।’

वडा नं. ४ का अध्यक्ष मनोज शर्माले भने, ‘घोडदौरीया गाउँमा १० वटा घरमा क्षति पुगेको बताउँदै निरन्तर परिरहेको पानीले अझ बढी क्षति हुने सम्भावना रहेकाले सचेत हुन स्थानीयहरूलाई अपिल गरेको बताए । 

वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यका अनुसार कतिपय घरमा खोलाको पानी पसिसकेको अवस्था छ । समयमा पानी नपरेपछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरबासीलाई दैनिक छाक टार्न समस्या भएको अवस्थामा बाढी बस्तिमा पस्न थालेपछि थप समस्या भएको उनले गुनासो गरे । 

घरभित्रै पानी पसेपछि स्थानीयले घरमा भएका सामान सार्न थालेका छन् । त्यहाँका स्थानीयले घरमाथि पाल टाँगेर बस्न बाध्य भएका छन् । घरभित्र पानी पसेपछि घरदेखि माथि चौरमा पाल टाँगेर बस्नु परेको स्थानीय लियाकत साईले बताए ।

यता नरैनापुर गाँउपालिका अध्यक्ष शाहले निरन्तर पानी परीरहेकोले सचेत हुन आग्रह गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बाढी प्रभावित क्षेत्रमा पुगिसकेको जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्