०४ साउन २०८३, सोमबार
संसदीय निर्वाचन २०७९

जसपालाई एमालेले २० सिट छाड्ने, राप्रपालाई ५ सिट

जसपालाई एमालेले २० सिट छाड्ने, राप्रपालाई ५ सिट

सत्ता गठबन्धन छाडेको जनता समाजवादी पार्टी (जसपा)लाई प्रतिनिधि सभाका २० सिट छाड्न एमाले तयार भएको छ । २० सिट लिएर एमालेसँग चुनावी तालमेल गर्न जसपा तयार भएको हो । 

तीन दिनयता भइरहेको छलफलपछि जसपालाई २० सिट दिनेगरी तालमेलको सहमति भएको एमालेका एक पदाधिकारीले लोकान्तरलाई जानकारी दिए । ‘जसपालाई २० सिट दिनेगरी लगभग सहमति भयो, एक सिट तल–माथि हुन सक्छ’, वार्तामा सहभागी ति नेताले शुक्रवार राति लोकान्तरसँग भने । 

एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच पटक–पटकको छलफलपछि सहमति जुटेको हो । एमाले महासचिव शंकर पोखरेल र उपेन्द्र यादवले जसपाले पाउने सिटको बारेका सहमति जुटाएका थिए । 

सत्ता गठबन्धनले अपेक्षित सिट नदिएपछि जसपा एमालेसँग तालमेल गर्न पुगेको थियो । सत्ता गठबन्धनले जसपालाई १६ सिट दिने निर्णय गरेपनि उसले २५ सिटमा दाबी गरेको थियो । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई ‘प्रतिगमन’ भन्दै उपेन्द्र यादव कांग्रेस नेतृत्वको मोर्चामा सहभागी भएका थिए । २०७४ सालको चुनावलगत्तै बनेको केपी ओली नेतृत्वको सरकारमा भने यादव उपप्रधानमन्त्री बनेर सहभागी भएका थिए । जसपाले एमाले कित्ता रोज्दा मधेशकै अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सत्ता गठबन्धनको साथ पाएको छ । 

एमालेसँग चुनावी तालमेलको प्रस्ताव गरेको राप्रपालाई भने ५ देखि ६ क्षेत्रमा मात्र एमालेले सहयोग गर्ने भएको छ । एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच केही निर्वाचन क्षेत्रमा तालमेल गर्ने सहमति भएको हो । 

शुक्रवार ओलीनिवास बालकोटमा भएको सहमतिअनुसार एमालेले लिङदेनका लागि झापा ३, विक्रम पाण्डेका लागि चितवन ३, दीपक बोहराका लागि रुपन्देही ३, धवलशमशेर जबराका लागि बाँकेको एउटा क्षेत्र छाड्ने छ । 

राप्रपाले झापाका अन्य क्षेत्रमा एमालेलाई समर्थन गर्नेछ । मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि आगामी आइतवार उम्मेदवार मनोनयनको कार्यतालिका छ । गठबन्धनले भने अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्