
गत मंगलवार साँझदेखि परेको अविरल बर्षाका कारण तनहुँका १८० घरधुरीका करीब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ ।
व्यास नगरपालिका–७ ब्रिफ नरङ्गाफाँट खानेपानी उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानीको पाइप पहिराले क्षति बनाएपछि २ दिनदेखि खानेपानी सेवा बन्द हुन पुगेको हो ।
बाढी र पहिराले खानेपानीको पाइप बगाएकाले पानी ल्याउन नसकिएको समितिले जनाएको छ । धारामा पानी नआएपछि स्थानीयलाई खानेपानी जोहो गर्न कठिनाइ भएकाले जतिसक्दो चाँडो पानी ल्याउन उपभोक्ता समितिले पहल गरिरहेको समितिका सचिव गणेश वाग्लेले जानकारी दिए ।
१ नम्बर वडास्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानीको पाइपमा पनि क्षति पुगेको छ । व्यास नगरपालिका–१३ स्थित खिरखादी मुहानको मुख्य लाइनको पाइप फुटेकाले पानी वितरणमा समस्या भएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।
समितिले व्यास नगरपालिका–१ का २ हजार ६०० घरधुरीमा पानी वितरण गर्दै आएको थियो । लामो दूरीबाट ल्याइएको खानेपानीको पाइप हालैको अविरल वर्षाका कारण पाइपमा क्षति पुर्याएकाले मर्मत गरी चाँडो पानी सञ्चालन गर्ने योजना रहेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए ।