
जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घट्नास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
'बिहान चार बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर पुरिँदा सबैजना सुतिरहेका रहेछन्, उम्किनै पाएनन्', उनले भने, 'प्रहरी र स्थानीयले सातै जनाको शव निकालेका छन्, घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ ।'
जुम्लामा निरन्तर वर्षा भइरहेको छ । घटनास्थलमा पुग्ने सडक सबै भत्किएको छ ।
जिल्ला सुरक्षा समितिको टोली पैदल घट्नास्थलतर्फ जाँदै गरेको डिएसपी चन्दले बताए ।
'हामी सबै बाटोमै छौँ, सडक बनाउँदै अघि बढ्दै गरेको अवस्था हो', उनले भने, 'साँझसम्म घट्नास्थलमा पुग्ने आश गरेका छौँ ।'
सदरमुकामबाट चिकित्सकसमेत साथमा लिएर जान लागेको डिएसपी चन्दले बताए ।
वर्षाका कारण जिल्लाभरि टेलिफोन सेवासमेत अवरुद्ध भएको उनको भनाइ छ । रासस