
काठमाडौं, २१ पुस –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को गैरजिम्मेवारीपनका कारण उपत्यकाबासीले पानी खान नपाएको बताएका छन् ।
काठमाडौं उपत्यकामा खानेपानी वितरणमा चरम लापरवाही देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसमा लिमिटेड स्वयं दोषी देखिएको आरोप लगाएका छन् ।
काठमाण्डौ उपत्यकाको खानेपानी वितरणमा देखिएका समस्या र समाधानका उपाय विषय छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले चुहावट नियन्त्रण गर्न सके धेरै हदसम्म खानेपानीको समस्या समाधान हुने बताए ।
किन उठेन १० अर्ब महसुल बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकामा करीव १० अर्ब रुपैयाँको खानेपानीको महसुल नउठेको जानकारी आफूलाई प्राप्त भएको भन्दै तत्काल महसुल उठाउन निर्देशन दिए । उपभोक्ता समिति र केयुकेएलका कर्मचारीको मिलेमतोमा पानी वितरणमा विकृति मौलाएको उनको ठहर थियो । खानेपानी वितरणमा दोषी पहिचान गरी तत्काल कारवाहीको दायरामा ल्याउन उनले निर्देशन दिए ।
४० प्रतिशत खानेपानी चुहावटमै सकिएको भन्दै उनले केही महिनाभित्र यसलाई आधा कम गर्न निर्देशन दिए ।
ठूला प्रतिष्ठान, कर्मचारी र राजनीतिज्ञलाई बिल नकाटी पानी पठाउनेमाथि कारवाही प्रधानमन्त्री प्रचण्डले उच्चपदस्त राजनीतिज्ञ, कर्मचारी र प्रतिष्ठानमा विल नकाटी पानी आपूर्ति गर्ने गरीएको भन्दै यस्ता काममा संलग्नमाथि कडा कारवाही गर्न निर्देशन दिए । ठूला होटल तथा प्रतिष्ठानमा कर्मचारीहरुको मिलेमतोमा कम महसूल आउने गरी मिटर जडान गरी पानी आपूर्ति गर्ने गरिएको भन्दै रोक्न निर्देशन दिए ।
मेलम्ची आउँदासम्म पाइप नविच्याए कारवाही प्रधानमन्त्री प्रचण्डले आगामी दशैंसम्म मेलम्चीको पानी आउँदा पाइपलाइन विछ्याउने काम नसके सम्बन्धितमाथि कारवाही गर्ने चेतावनी दिए । तोकिएको गुणस्तरमा काम गर्न पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिए । ‘मेलाम्ची आउंदा वितरण व्यवस्था नमिलाइएका कारण जनताले पानी पाएनन् कोही पनि कारवाहीबाट बच्ने अवस्था छैन,’ प्रधानमन्त्री प्रचण्डले भने ।
केयुकेएल नेतृत्वप्रति खनिए प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले केयुकेएलको नेतृत्वको गैरजिम्मेवारीका कारण खानेपानी आपूर्तिमा समस्या आएको बताए । ‘कार्यालयमा हाजिर गरेपछि अधिकांश कर्मचारी घरमा जाने गरेकोले सेवामा प्रत्यक्ष असर पुगिरहेको भन्ने गुनासो आएको छ,’ उनले भने, ‘खासगरी केयूकेएलको नेतृत्वमा रहनेहरुले नै आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगर्दा यो समस्या आएको देखिन्छ ।’
केयुकेएल एक्लै अघि बढेको भन्दै सबैसँग सहकार्य गरेर खानेपानी आपूर्ति चुस्त बनाउन उनले निर्देशन दिए । ‘केयुकेएल कसैलाई सार्वजनिक अधिकार व्यक्तिगत फाइदाको लागि उपभोग गर्न स्थापना गरिएको होइन,’ प्रधानमन्त्री प्रचण्डले थपे, ‘तपाइहरुको प्रवृत्तिका र अकर्मण्यताका कारण जनताले आधारभूत रुपमा नभै नहुने पानी खान पाएनन् ।’
तत्काल कर्मचारी व्यवस्था गरी मुहानमा खटाउन उनले निर्देशन दिए । स्थानीय प्रशासनसंग समन्वय गरी मुहान तथा पोखरीमा सुरक्षाको लागि सुरक्षाकर्मी समेत खटाउन उनले निर्देशन दिए ।