०५ साउन २०८३, मंगलबार

टिकट वितरणमा असन्तुष्टि : मोरङमा एमाले परित्याग गर्ने बढ्दै

टिकट वितरणमा असन्तुष्टि : मोरङमा एमाले परित्याग गर्ने बढ्दै

मोरङ क्षेत्र नम्बर ३ मा १० बुँदे पक्षधरले टिकट पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीनिकटका नेताहरुले पाटी छाड्न थालेका छन् । प्रतिनिधि सभामा भानुभक्त ढकालले टिकट पाएका छन भने प्रदेशमा १० बुँदे पक्षधर नेताहरूले टिकट पाएका छन् । 

क्षेत्र नम्बर ३(१)मा दिलिप कुमार राई र ३ (२)मा ज्ञानेन्द्र सुवेदीले टिकट पाएका छन्  । सुवेदी र राई दुवै जना १० बुँदे पक्षधर नेताहरू हुन् । प्रदेशमा उनीहरूलाई टिकट दिएको भन्दै प्रदेश कमिटी तथा जिल्ला कमिटीका नेताहरुले पाटी परित्याग गर्न थालेका हुन् । 

पाटी परित्याग गर्नेमा प्रदेश कमिटी सचिवालय सदस्य रामकुमार बस्नेत, राजकुमार बस्नेत, मधु गुरुङ र प्रताप थापा रहेका छन । रामकुमार तत्कालीन मुख्यमन्त्री शेरधन राईका जनसम्पर्क सल्लाहकार हुन् भने राजकुमार साविकका डाँगिहाट गाविसका अध्यक्ष हुन् । गुरुङ सविधान सभाकी सदस्य हुन् । यस्तै जिल्ला कमिटी सचिवालय सदस्य गीता शिवाले समेत पाटी परित्याग गरेकी छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पाटी परित्याग गरेको जनाएका छन् ।

टिकट वितरणमा असन्तुष्ट नेकपा एमाले मोरङका नेता मेघराज कट्टेलले पनि पार्टी परित्याग गरेका छन् । पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको हितविपरीत उम्मेदवार छनोट भएपछि पार्टीमा बस्नुको औचित्य सकिएको कट्टेलले बताएका छन् ।

नेकपा एमाले मोरङका सचिवालय सदस्यसमेत रहेका कट्टेलले मोरङको क्षेत्र नं. २ (१) बाट उम्मेदवार बन्न चाहेका थिए । तर, पार्टीले सो क्षेत्रबाट मेनपावर व्यवसायी डिबी कार्कीलाई उम्मेदवार बनाएको छ ।

यसअघि एमालेका जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिइसकेका छन भने प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम अधिकारीले पनि पार्टी परित्याग गरेका छन् । यस्तै एमालेबाट क्षेत्र नं. ५ मा एकल उम्मेदवार सिफारिस भएका योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसपासँग गठबन्धन हुँदा मण्डलले टिकट नपाएका हुन् । 

मोरङमा एमालेमा टिकट वितरणमा व्यापक असन्तुष्टि देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्