१९ असार २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

प्रतिनिधिसभातर्फ २४१२ र प्रदेशसभातर्फ ३२२४ उम्मेदवार चुनावी मैदानमा

प्रतिनिधिसभातर्फ २४१२ र प्रदेशसभातर्फ ३२२४ उम्मेदवार चुनावी मैदानमा

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि उम्मेदवार तय भएसँगै चुनावी माहोल थप तातिएको छ । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार प्रतिनिधिसभामा २४१२ उम्मेदवार चुनावी मैदानमा छन् भने प्रदेशसभामा ३२२४ उम्मेदवार कायम भएका छन् । 

आयोगका अनुसार प्रदेशसभातर्फ पुरुष उम्मेदवारको संख्या २९४३ जना रहेका छन् भने महिला उम्मेदवारको सख्या २८० जना रहेका छन् । यस्तै १ जना अन्य लिंगका रहेका छन् । 
यसैगरी प्रतिनिधिसभातर्फ २१८७ जना पुरुष उम्मेदवार रहेका छन् भने २२५ जना महिला रहेका छन्  । आयोगले उम्मेदवारी फिर्ताका लागि दिएको समयपछि उम्मेदवारको अन्तिम सूची तय गरेको हो । आयोगले उम्मेदवारलाई बुधबार नै चिह्न प्रदान गरिसकेको छ । 
००००
नेपाल उद्योग वाणिज्य महासङ्घले दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा कुनै पनि निर्णय नगरेको प्रष्ट पारेको छ ।  महासङ्घले बुधबार एक विज्ञप्ति जारी गर्दै कृषि उद्यम केन्द्रमार्फत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा आएका सूचना एवं समाचार सत्य नभएको जनाएको हो । ती मुलुकमा प्रशिक्षार्थी कामदार पठाउनेबारे कुनै पनि कार्यक्रम नरहेको महासङ्घले जनाएको छ ।
००००
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत रहेका जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गरेको बुलेटिनमा जनाइएको छ ।
००००
निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । गोरखा २ मा उम्मेदवारी दिन जाँदा बाजागाजासहित तामझाम गरेको भन्दै आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको हो ।
आयोगले २५ जना भन्दा मनोनयन दिन कार्यक्रममा सहभागी नहुन भनेको तर प्रचण्ड बाजागाजासहित गएका थिए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् । गैर आवासीय नेपाली संघ २०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुन लोकतन्त्रविरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भएपनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताए ।
००००
नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिए नेता कार्यकर्तालाई निस्कासन गर्ने निर्णय गरेको छ । कांग्रेसले बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई पनि पार्टीबाट ५ वर्ष निष्कासन गर्ने निर्णय गरेको हो । 

कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग देशव्यापी गठबन्धन गरेको छ । कतिपय ठाउँमा गठबन्धनप्रति असन्तुष्ट कांग्रेस नेताले बागी उम्मेदवारी दिएका छन् ।
००००
बारामा एकै परिवारका तीन जनाको हत्या भएको छ । बाराको प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँका २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाका छोरा राजवीर चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । 
उनीहरुको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूको हत्या भएको देखिएको छ । प्रहरीले हत्या गरेको आशंकामा सुजाताका पतिलाई नियन्त्रणमा लिएको छ ।
००००
नेकपा एमाले परित्याग गरेर प्रतिनिधि सभातर्फ रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न ‘त्रिभुज’ पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई बुधवार चुनाव चिह्न ‘त्रिभुज’ दिएको हो । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले चापाकल चिह्न पाएका छन् । 
००००
नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा बुधबारका लागि तोकिएको पेसी स्थगित भएको हो । 
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारीका कारण शाहविरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । यसअघि शाहविरुद्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो ।
००००
पछिल्ला दुई दिन गिरावट भएको नेप्से परिसूचक बुधवार सामान्य अंकले बढेको छ । बुधवार नेप्से परिसूचक ११.३२ अंक बढेर १८६६.४८ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४८ अंक, फ्लोट इण्डेक्स ०.८१ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंकले बढेको छ ।
००००
सत्ता गठबन्धनले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा महेन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको प्रष्ट पारेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूले बुधवार विज्ञप्ति जारी गर्दै सर्लाही २ मा यादव आधिकारिक उम्मेदवार भएको प्रष्ट पारेको हो ।
००००
मनाङबाट प्रदेश सभा ‘ख’बाट स्वतन्त्र उम्मेदवारी दिए राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेश सभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
००००
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि सरकारले २० अर्ब ४ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको छ । अर्थ मन्त्रालयले चुनावका लागि आवश्यक उक्त बजेट रकमान्तर तथा स्रोत सुनिश्चितता दिइसकेको छ । 
अर्थ मन्त्रालयका अनुसार निर्वाचन आयोगका लागि १० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता दिइएको छ । यस्तो सुनिश्चिततापछि आयोगले १० अर्ब रुपैयाँसम्मको बजेट अर्थ मन्त्रालयसँग माग्ने बित्तिकै पाउने छ ।

salt training

कमेन्ट गर्नुहोस्