
प्रचारलाई आक्रामक बनाइरहेको चलचित्र ‘महापुरुष’ले बिर्तामोडबाट ‘मोफसल टुर’ शुरू गरेको छ ।
बिर्तामोडमा आयोजित कार्यक्रममा चलचित्रका कलाकारहरूले यसको प्रचार गरेका छन् ।
हजारौं दर्शकको उपस्थितिबीच वान स्टप मलमा आयोजित कार्यक्रममा चलचित्रका कलाकारहरू हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्रसिंह बानियाँ लगायतले दर्शकलाई मनोरञ्जन प्रदान गरे ।
गायिका रचना रिमालको समेत प्रस्तुति रहेको कार्यक्रममा कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई भव्यता दिन स्थानीय कलाकारको समेत प्रस्तुति समावेश गरिएको थियो । कलाकारहरू अरुण र अञ्जनाले नृत्य प्रस्तुत गर्दा हरिवंश र रचनाले गीत प्रस्तुत गरेका थिए ।
गीत, संगीत र नृत्यका माध्यमबाट दर्शकलाई झुमाउन सफल कलाकारले चलचित्र राम्रो बनेको भन्दै हेरिदिन आग्रह समेत गरेका छन् ।
कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने चलचित्रले कार्यक्रमअघि बिर्तामोडमा पत्रकार सम्मेलन समेत गरेको थियो । विभिन्न स्कूलमा पुगेर चलचित्रबारे जानकारी दिएको निर्माण टीमले बिर्तामोडकै डिम्याक्स हलमा पुगेर दर्शकसँग अन्तर्क्रिया समेत गरेको थियो ।
प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रले मोफसलका विभिन्न शहरमा पुगी प्रचारात्मक कार्यक्रम गर्ने तय छ । निर्माण टीमले हेटौंडा, नारायणगढ, बुटवल, पोखरा लगायतका शहरमा कार्यक्रम गर्दैछ ।


