
नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन शुक्रबार हुँदैछ । त्यसका लागि पोखरा रङ्गशालामा भव्य तयारी गरिएको छ । नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ३ः३० बजे भव्य समारोहकाबीच गर्ने भएको नवौँ राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए । उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउनका लागि सबै किसिमको तयारी भएको उनले जानकारी दिए ।
कोरोना, स्थानीय निर्वाचनलगायतका कारण २०७७ मा नै हुनुपर्ने नवौँ राष्ट्रिय खेलकुद ढिलै भए पनि यसको ‘काउण्टडाउन’ आज सकिएको छ । नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनका दिन नवौँ राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी गराइएको थियो ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व खेलकुदका गतिविधिसँगै नेपालको राष्ट्रिय खेलकुद पनि प्रभावित बनेको थियो । पछिल्लो समय स्थानीय निर्वाचनका कारण खेलको मिति पुनःसरेको थियो । अब भने नवौँ राष्ट्रिय खेलकुदको प्रतिक्षाको घडी सकिएको छ ।विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा २०४० सालमा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई चार दशकपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका जुरेको हो । कूल ३६ वटा खेल खेलाइने नवौँ राष्ट्रिय खेलकुदमा आठ हजार खेलाडी तथा अफिसियलसहित १० हजारभन्दा बढी व्यक्ति पोखरामा एकसाथ जुट्दैछन् ।
यसअघि १३औँ दक्षिण एशियाली खेलकुदका आठवटा खेल सम्पन्न गरेको पोखराको घरेलु मैदानमा नै यसपटक २६ वटा खेल हुने खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिए । ३६ खेलमध्येका अन्य खेल गण्डकीका विभिन्न जिल्लामा हुने उनले जानकारी दिए । प्रतियोगिता आगामी कात्तिक ३ गतेसम्म चल्नेछ । पोखरासहित तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको छ ।