
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ मन्त्रीलाई पदमुक्त गरेका छन् । आसन्न चुनावमा जसपाले नेकपा एमालेसँग गठबन्धन गरेकाले असन्तुष्ट रहेका प्रधानमन्त्री देउवाले मन्त्रीहरू पदमुक्त गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त भएका मन्त्रीले सम्हालिरहेको कार्यभार प्रधानमन्त्रीलाई तोकेकी छन् ।
००००
देउवाले संघीय सरकारको मन्त्रिपरिषद्बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ मन्त्रीलाई पदमुक्त गरेपछि जसपा नेतृत्वको मधेश प्रदेश सरकारले पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेको छ ।
मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र शाहले केन्द्र सरकारबाट जसपाका मन्त्रीहरू हटाएपछि मधेश मुख्यमन्त्री लालबाबु राउतले अन्य दलका मन्त्री हटाउनेबारे पार्टी नेतृत्वसँग सल्लाह गरिरहेको जानकारी दिए ।
००००
मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा करीब २ हप्ता देशैभर वर्षा भयो । दशैं शुरू भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती मात्रै दिएन देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा समेत क्षति र्पुयायो । बाढी पहिरोजन्य घटना पनि बढे ।
यतिखेर दशैं सकिएर तिहारको संघारमा केही दिनयता मौसम सुधारिएको छ । क्रमिकरूपमा मौसममा सुधार आई भारी वर्षा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
००००
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमाले निर्वाचन परिचालन कमिटीको नेतृत्व पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले लिएका छन् ।
पार्टी क्षेत्रीय समन्वय कमिटीको बिहीवार गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलाले पोलिटब्यूरो सदस्य भट्टराईको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
००००
सिरहामा सशस्त्र प्रहरी बलका जवानले आफ्नै सिनियर अधिकृतको हत्या गरेको खुलासा भएको छ । छिन्नमस्ता बीओपीमा कार्यरत प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको उक्त बीओपीमै कार्यरत जवान होमबहादुर खत्रीले हत्या गरेको अभियोगमा पक्राउ परेपछि यस्तो खुलासा भएको हो ।
००००
नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही बनेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी निष्क्रिय गर्न निर्देशन गरेको छ ।
तोकिएको समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवारलाई यही असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपर यसअघि गरिएको कारबाही फुकुवा गर्ने कांग्रेसले आज जनाएको छ । त्यस्ता विद्रोही उम्मेदवारले उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धता जनाउनुपर्ने छ ।
००००
गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिकरुपमा सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारीको काम सकिएको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले पत्रकार सम्मेनल गरी जानकारी दिएको छ । प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधार स्तरोन्नतिलगायतका सबै तयारी पूरा भएको राखेपले जनाएको छ ।
००००
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन निर्वाचन आयोगले एक निर्णय गरेको छ । उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा निर्वाचन आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको र निर्वाचन आचारसंहिता पालना भए नभएको सम्बन्धमा तल्लो तहबाट नै निगरानी गर्नु पर्ने भएकोले गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग यससम्बन्धी कार्य गर्न लेखी पठाउने निर्णय गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
००००
सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तय भएको आमनिर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मुल नाराका साथ गठबन्धनले संयुक्त कार्यकर्ता भेला गर्न लागेको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव १५ अंकले उकालो लागेर १ हजार ८७० दशमलव ६३ मा पुगेको छ ।
००००
पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार १ हजार ७८६ जनामा परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको हो ।
००००
काठमाडौंको नक्सालमा एक युवतीलाई पेट्रोल छर्केर जलाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २३ वर्षीया पवी खनाललाई जलाएको आरोपमा सिन्धुलीका पदमकुमार श्रेष्ठ र बाराको जीतपुर सिमराका केशव रिजाललाई पक्राउ गरिएको छ ।
००००
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन गरेका विजयकुमार गच्छदारसहित ९ जनाको उम्मेदवारी खारेज हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।
गच्छदारसहित गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ, लक्ष्मी महतो, गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेज हुनुपर्ने मागसहित रिट निवेदन दायर भएको हो ।
००००
नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको लामो आलोचना गरे पनि पार्टीमै रहेर उम्मेदवारलाई निर्वाचनमा सघाउने बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाए पनि पार्टीमै रहेर संघर्ष गर्ने उनले बताए । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीभित्र अन्तिम विन्दुसम्म संघर्ष गरिरहने उनले बताए । पार्टीमा ५ दशकदेखि आफ्नो योगदान रहेको भए पनि पार्टीभित्र गलत क्रियाकलापको विरोध गरिरहने उनले बताएका छन् ।
००००
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०७९ को दफा ३२ बमोजिम सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुखलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको छ ।
००००
नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । पहिलोपटक ७ दिनको म्याद दिएको काठमाडौं जिल्ला अदालतले दोस्रोपटक बिहीवार ५ दिनको म्याद थप गरेको हो ।
सन्दीपमाथि १७ वर्षीया किशोरी बलात्कारको आरोप छ । सन्दीपले भदौ ५ गते होटलमा लगेर बलात्कार गरेको आरोप किशोरीले जाहेरीमा लगाएकी छन् ।