
नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले वाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको बताएकी छन् ।
शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै कार्यवाहक गभर्नर डा.तिमिल्सनाले यस्तो बताएकी हुन् । उनले वस्तु तथा सेवाको आयातमा उच्च वृद्धि, कमजोर निर्यात, रेमिट्यान्समा कमि तथा पर्यटन क्षेत्रमा अपेक्षाकृत वृद्धि नभएको कारण शोधान्तर स्थितिमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौतीको रुपमा रहेको बताइन् ।
डा. तिमिल्सिनाले अमेरिकी डलरको मागमा भएको वृद्धिका कारण अन्य मुद्रासहित नेपाली मुद्राकोसमेत अवमूल्यन भएको बताइन् । उनले डलरको मूल्य बढेको कारण नेपालमा आउने रेमिटान्स बढे पनि अन्य क्षेत्रमा नकारामत्क प्रभाव परेको जानकारी दिइन् । उनले पछिल्लो समय विश्वको अर्थतन्त्रमा नै ठूलो दबाब परेकाले नेपालमा पनि मुद्रास्फीतिमा दबाब कामय रहेको बताइन् ।
डा.ढुङ्गानाले नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिलाई सहजकता पूर्ण रुपमा कसिलो बनाई वाह्य क्षेत्र कसिलो कायम राख्नुपर्ने अवस्था रहेको बताइन् । उनले आन्तरिक उत्पादनको वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताइन् । उनले पर्यटन क्षेत्र र जलविद्युतको उचित उपयोग गरी कृषि क्षेत्रमा यान्त्रिकीकरण र औधोगीकरणमा विशेष जोड दिई अर्थतन्त्रलाई उत्पादनमुखी बनाएर दिगो विकासतर्फ उन्मुख गराउनुपर्ने आवश्यक रहेको उल्लेख गरिन् ।
सूचना प्रविधिको क्षेत्रमा भएको विकासलाई प्रयोग गरी नेपालबाट सूचना प्रविधि सेवाहरू निर्यात गर्नसकेमा नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताइन् । कार्यवाहक गभर्नरले बैंक तथा वित्तीय संस्थाले तरलताको समस्या खेप्नुपरेको बताइन् । उनले तरलता सहज कायम गर्न उत्पादनमूलक क्षेत्रमा लगानीमा वृद्धि गरी अर्थतन्त्रमा दबाब रहेकै कारण नियामकले पनि कडाइ गरेर अगाडि बढ्नुपर्ने अवस्था कायम रहेको बताइन् ।
त्यस्तै, महालेखा परीक्षक टंकमणी शर्मा दंगालले नेपालको अर्थतन्त्र अण्डर भ्याल्युभएको बताए । उनले नेपालको जिडिपी जति हो त्यो सबै एकाउन्टमा नआएको बताए । उनले जीडीपी अहिलेको भन्दा बढी हुनुपर्ने भए पनि विभिन्न कारणले ठोसरूपमा जीडीपी नआएको बताए ।
उनले सरकार तथा अन्य सबै निकायलाई तीन÷चार वर्षदेखि मुलुकको जीडीपी राजस्व संकलनलगायतका हिसाबले हेर्दा कम रहेको बताएको बताए । उनले सरकारले अहिलेसम्म गरेको लगानी बालुवामा पानी हालेको जस्तै भएको दाबी गरे ।