
नेपाली कांग्रेसले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कर्णाली प्रदेशमा हालै बाढीपहिरोबाट प्रभावितको उद्धार र राहतमा जुट्न तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग पुर्याउन पार्टी सदस्य र भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन गरेको छ ।
बैठकले असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका रुकुमपश्चिम, मुगु, कालिकोट, हुम्ला, सुर्खेत, जाजरकोट, सल्यान, डोल्पा, जुम्ला र दैलेखमा करीब ३ दर्जन व्यक्तिको मृत्यु, २० जना बेपत्ता र २३ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
बाढी पहिरोबाट आजसम्म रुकुम पश्चिममा ७, मुगुमा २३६, कालिकोटमा २३२, हुम्लामा २८, सुर्खेतमा १२९, जाजरकोटमा १२, सल्यानमा ६७, डोल्पामा ५, जुम्लामा ३६८ र दैलेखमा २७१ घरहरू पूर्ण रूपमा क्षति भएका छन् ।
रुकुम पश्चिममा ३, मुगुमा ३९९, कालिकोटमा ४३५, हुम्लामा ३२, सुर्खेतमा १२७, सल्यानमा ४२, डोल्पामा ६, जुम्लामा ४४० र दैलेखमा २३६ घरहरू उच्च जोखिममा रहेका छन् ।
रुकुम पश्चिममा १५, मुगुमा ५ हजार २८२, कालिकोटमा १ हजार ७६३, हुम्लामा ४ हजार ७४, सुर्खेतमा ५६६, सल्यानमा ६२९, डोल्पामा ३२, जुम्लामा १ हजार ७२५, दैलेखमा १ हजार ७२० र जाजरकोटमा १८ जना स्थानीय वासिन्दा विस्थापित हुन बाध्य भएका बैठकपछि कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कर्णाली राजमार्गका दैलेख, कालिकोट, जुम्ला, मुगुका केही स्थानहरू अवरुद्ध समेत भएका छन् ।
प्राकृतिक विपद्मा परी जीवन गुमाएका सम्पूर्णमा बैठकले श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूका शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।