३२ असार २०८३, बिहीबार

बेनीमा नवौं राष्ट्रिय खेलकुदको तेक्वान्दो शुरू

बेनीमा नवौं राष्ट्रिय खेलकुदको तेक्वान्दो शुरू
प्रतिकात्मक तस्वीर

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो खेल शुरू भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बेनीको कालीपुल कबर्डहलमा कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । ७ वटा प्रदेश, ३ वटा विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए) का ३३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 

समितिका प्रशिक्षक कर्ण प्रधानले पुम्सेका ६ र गेरोगीका १६ गरी २२ वटा इभेन्ट्सका खेल हुने जानकारी दिए । स्वर्ण र कास्य २२/२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ । 

महिलातर्फ ४६ देखि ७२ र पुरुषतर्फ ५४ देखि ८७ किलोग्राम तौल समूहका खेलाडी सहभागी छन् । 

शुक्रवार साँझ भएको उद्घाटन खेलमा पुम्से एकलको महिला र पुरुषतर्फ नेपाल पुलिस क्लबले जितेको राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नविन श्रेष्ठले बताए । महिलातर्फ ७.१९९ अंकसहित नेपाल प्रहरीकी निशा दर्नाल विजयी हुँदा उपविजेता भएकी नेपाली सेनाकी स्वतिका तामाङले ७.१४९ अंक जोडेकी थिइन् ।

तेस्रो स्थान प्राप्त गर्न सफल १ नम्बर प्रदेशकी सुशीला राईले ६.८६६ र गण्डकीकी अर्पणा अधिकारीले ६.४६६ अंक पाइन् । 

पुरुषतर्फ प्रहरीका कमल श्रेष्ठ ७.५३३ अंकसहित विजयी हुँदा लुम्बीनीका युवराज रानाले ७.१४९ अंकसहित उपविजेता बने । ६.८६६ अंकसहित गण्डकीका आयुष गुरुङ र ६.६९९ अंक सहित १ नम्बर प्रदेशका विवेक राई तेस्रो भए । पुम्से र गिरोगीतर्फका बाँकी खेल शनिवार सञ्चालन हुने राखेपका प्रमुख प्रशिक्षक श्रेष्ठले बताए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बेनीमा बिहीवारदेखि महिला भलिबल प्रतियोगिता सञ्चालन भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्