
रुस र युक्रेनबीचको युद्ध तनावग्रस्त बनिरहेका बेला परमाणु युद्ध हुनसक्ने चिन्ता व्यक्त गरिएको छ ।
रुसी राष्ट्रपति भ्यादिमिर पुटिन र नेटो पक्षराष्ट्रबीच यतिबेला तनाव बढिरहेको देखिन्छ । पुटिनले परमाणु युद्धको चेतावनी दिएका छन् । परमाणु हतियारमा रुस विश्वभरमै सबैभन्दा शक्तिशाली छ ।
रुस र नेटोबीच परमाणु युद्ध भएमा ५ अर्बभन्दा बढी मानिस मारिनसक्ने चेतावनी दिएका छन् । तत्कालै मान्छेको मृत्यु हुने मात्रै होइन, कैयौ वर्षसम्म ती क्षेत्रमा सूर्यको प्रकाश पुग्ने छैन । पुटिनको धम्कीलाई शक्ति राष्ट्रले गम्भीर तरिकाले लिएका छन् ।
द सनमा प्रकाशित रिपोर्टअनुसार विपद् विशेषज्ञ पल इनग्रामले विश्वभर १२ हजारभन्दा बढी परमाणु हतियार रहेका र रुससँग मात्रै ६ हजार हतियार रहेका बताए । परमाणु युद्ध भएमा विश्वमा एकखालको सर्वनाश नै हुने चेतावनी दिइएको छ ।
विशेषज्ञका अनुुसार युक्रेनमाथि परमाणु हमलाको खतरा छ । युक्रेनमा गहुँ उत्पादन पर्याप्त हुने भएकाले यसलाई युरोपको खाद्य भण्डार पनि भनिन्छ । युक्रेनमा परमाणु हमला भएमा कैयौ वर्षसम्म गहुँ उत्पादन नहुने हुँदा खाद्य संकट निम्तिने खतरा समेत देखिएको छ । युक्रेनमा मात्रै होइन, विश्वभर नै खाद्य संकट हुने विशेषज्ञले जनाएका छन् ।
बढी जनसंख्या भएका भारत र चीनमा परमाणु प्रहार भएमा क्षति झन् बढी हुने रिपोर्टमा उल्लेख छ ।