काठमाडौं, २१ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा भएको प्रमुख ५ दलको बैठकमा सत्तारुढ दल र विपक्षी दलका प्रमुखहरुबीच चर्काचर्की भएको छ ।
स्रोतको अनुसार विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संशोधन प्रस्ताव संसदमा टेबुल नै गर्न नसक्ने बताएपछि चर्काचर्की भएको हो ।

बैठक सुरु हुनासाथ राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुबीच विवाद भइरहँदा २०७४ माघ भित्र हुनु पर्ने स्थानीय चुनाव समेत ओझेलमा पर्ने देखिएको भन्दै गम्भीर बन्न दलहरुको ध्यानाकर्षण गराएकी थिइन् ।
सो पछि प्रधानमन्त्र िपुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसलापछि संशोधनमा कुनै बाधा नरहेको भन्दै अब २४ गतेको संसद बैठकबाट प्रस्ताव टेबुल हुने जानकारी गराएका थिए ।
लगत्तै ओलीले सीमांकनको सवालमा सर्वोच्चले गरेको फैसला नै संशोधन अनुचित हो भन्ने सन्देश भएको भन्दै संशोधन टेबलु हुन नसक्ने र अब सरकार ब्याक हुनुपर्ने धारणा राखेका थिए ।
सो पछि कांग्रेस सभापति शेरबहादुर देउवा ओलीको भनाईमा आपत्ति जनाउँदै संशोधन कहाँ रोक्नु भनेको छ ? भन्दै कड्किएको एक बैठकमा सहभागि एक नेताले लोकान्तरलाई बताए ।
उनका अनुसार सत्तारुढ दल संशोधनन टेबुल गरिछाड्ने र एमाले हुन नदिने भन्दै बादविवादमा उत्रिएका थिए ।
यसरी प्रचण्ड– देउवा र ओलीबीच विवाद हुँदै जाँदा राष्ट्रपतिले विवादमा अल्झिँदा संविधान कार्यान्वयनमा बाधा पर्ने भन्दै गम्भीर बन्न पुनः आग्रह गरेकी थिइन् ।
सो बैठकमा सहभागि राप्रपा र मधेसी दलका तर्फबाट फोरम लोकतात्रिकले पनि आफ्नो धारणा राखे । राप्रपाले संशोधनमा समावेश गरिएको नागरिकता र सीमांकनको सवाल आपत्ति जनक रहेको बताएको थियो भने फोरमले मधेसीको माग सम्बोधन हुने गरी संशोधन प्रस्ताव परिमाजन हुनुपर्ने धारणा राखेको थियो ।
दलहरुबीच विवाद बढ्दै जाँदा राजनीत अन्योल बनिरहेकोबेला सहमतिको लागि दवाव दिन राष्ट्रपतिले ५ दलको बैठक बोलाएको भएपनि बैठक चर्काचर्कीमै सीमित बन्न पुग्यो ।
सरकारले मंसिर १४ गते संसदमा संशोधन प्रस्ताव गर्दा गरेपछि सत्तारुढ दल र विपक्षीबीच सम्बन्ध चिसिएको छ ।