पूर्वी नवलपरासीको कावासोतीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्रतियोगिता अन्तर्गतको सेपाताक्रो खेलको उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन अगाडि ७ प्रदेश र विभागीय टीम सहितको खेलाडी, अफिसियल, खेलकुद विकास समितिका पदाधिकारी, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, पत्रकार सहितको टोलीले नगर परिक्रमा गरेको थियो ।
सेपाताक्रो खेलको उद्घाटन खेलमा विभागीय टीम नेपाली सेना र १ नम्बर प्रदेशको पुरुष टोलीबीच खेल हुने खेल नेपाल सेपाताक्रो संघका केन्द्रीय अध्यक्ष नेत्रबहादुर गुरुङले बताए । महिला र पुरुषको फरक–फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाताक्रो खेलमा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका टीमले भाग लिनेछन् भने कुस्तीतर्फ ७ प्रदेश र ३ वटा विभागीय टीम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिमले भाग लिनेछन् ।
पूर्वी नवलपरासीमा हुने अर्को खेल कुस्ती दिनको ३ बजे उद्घाटन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनले बताए । कुस्तीतर्फ ७ वटा प्रदेश र ३ वटा विभागीय टीम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरेर पुरुष ९१ र महिला ६९ गरी १६० खेलाडीले भाग लिँदैछन् ।