
गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीमा त्रिभूवन आर्मी क्लबले लगातार दोस्रो जित निकाल्दा दोस्रो खेलमा सुदूरपश्चिम विजयी भएको छ । गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा शनिवार भएको खेलमा बागमती प्रदेशलाई ८–० गोल अन्तरले हराएर आर्मीले लगातार दोस्रो जित निकालेको हो ।
शुरुवातबाट नै दबाबमा राखेर खेलेको आर्मीले शुरुवाती मिनेटमा नै गोलको खाता खोलेको थियो । पहिलो क्वार्टरमा आर्मीको तर्फबाट सुनिता नेगीले गोल गर्न सफल भएकी थिइन् । त्यस्तै खेलको १४औँ मिनेटमा आर्मीकै तर्फबाट सीतामाया बलले दोस्रो गोल गरेकी थिइन् ।
पहिलो क्वार्टरमा २–० को अग्रता लिएको आर्मीले खेलको दोस्रो क्वाटरमा थप तीन गोल गर्न सफल भएको थियो । खेलको २७औँ मिनेटमा सरस्वती तामाङ, २८औँ मिनेटमा सीताकुमारी चौधरी र २९औँ मिनेटमा डम्बरा भट्टले गोल गरेका थिए । त्यस्तै खेलको तेस्रो क्वाटरमा आर्मीकी सुनिताले अन्तिम गोल गर्न सफल भइन् । ४०औँ मिनेटमा सुनिताले गोल गर्दै आर्मीलाई को लागि अंक बढाएकी थिइन् ।
त्यसपछि झनै मनोबल उच्च बनाएर खेलेको आर्मीले अन्तिम क्वार्टरमा दुई गोल गर्दै ८–० को गोल अन्तरले विजय भयो । ४८औँ मिनेटमा सरस्वती तामाङ र ५४औँ मिनेटमा कमला चन्दले एक–एक गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत महिलातर्फको अर्को प्रतिष्पर्धामा सुदूरपश्चिम विजयी भयो । शनिवार भएको दोस्रो खेलमा सुदूरपश्चिमले १–० को गोल अन्तरले मधेश प्रदेशलाई हराएको हो ।
खेलको पहिलो, दोस्रो र तेस्रो क्वार्टर गोलरहित सकिएको थियो । दुवैबीच रोचक प्रतिष्पर्धा रहेको खेलमा सुदूरपश्चिमको तर्फबाट धमरा थापाको गोल नै निर्णायक बन्न पुग्यो । खेलको अन्तिम मिनेटमा धमराले गरेको गोलले सुदूरपश्चिमलाई अंक बटुल्न पर्याप्त भएको हो । ५९ औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमलाई जित दिलाउन सफल भएकी थिइन् ।
सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल भइरहेका छन् । प्रतियोगिताको चौँथो दिन लुम्बिनी प्रदेश र प्रदेश १ तथा सुदूरपश्चिम प्रदेश र नेपाल आर्मीबीच आइतवार प्रतिष्पर्धा हुनेछ ।