
बाढीपहिरोका कारण कर्णाली प्रदेशमा १० हजार सात सय १४ जना घरबारविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै मुगुमा ५ हजार २८२ जना घरबारविहीन भएका छन् ।
कालीकोटमा १ हजार ७६३, जुम्लामा १ हजार ७२५, सल्यानमा ६३९, सुर्खेतमा ५६६, हुम्लामा ४७४, दैलेखमा २०७, डोल्पामा २५, जाजरकोटमा १८ र रुकुमपश्चिममा १५ जना घरबारविहीन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाढी पहिरोबाट कर्णालीमा १ हजार ७२० घरधुरी विस्थापित भएका छन् । त्यसमा मुगुमा ७२३, जुम्लामा ३६८, कालीकोटमा २३५, सुर्खेतमा १३९, सल्यानमा १२७, हुम्लामा ७३, दैलेखमा ४४, डोल्पा र रुकुमपश्चिममा ४/४ तथा जाजरकोटमा ३ घरधुरी विस्थापित भए ।
यस्तै बाढी पहिरामा परेर कर्णालीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट जुम्लामा १० जना, मुगुमा ८, कालीकोटमा ६, हुम्लामा ४, जाजरकोट सल्यानमा ३/३, दैलेख र डोल्पामा १/१ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाढी पहिरामा परेर कर्णाली प्रदेशको कालीकोटमा सबैभन्दा धेरै १७ जना बेपत्ता भएका छन् भने दैलेख, जुम्ला र डोल्पामा एक÷एक गरी २० जना बेपत्ता भएका छन् । तीमध्ये १ जना नेपाल प्रहरीका जवान रहेको जनाइएको छ ।
त्यस्तै बाढीपहिरामा परेर कर्णालीमा २८ जना घाइते भएका छन् । सबैभन्दा धेरै कालीकोटकै १० जना घाइते भएका छन् भने हुम्लामा ६, मुगु र जुम्लामा ५/५ जना तथा जाजरकोट र रुकुमपश्चिममा १/१ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा पूर्णरुपमा १ हजार १४० घर भत्किएका छन् भने आंशिक १ हजार ६१२ घर भत्किएका छन् । त्यस्तै बाढी तथा पहिराबाट उच्च जोखिममा १ हजार ४७७ घरधुरी रहेका छन् ।
पाँच दिनसम्म लगातार भएको वर्षाका कारण पानीले कर्णाली प्रदेशको मुगुमा २५१, हुम्लामा २१७ र सल्यानमा ६४ गरी २४६ पशुचौपायको मृत्यु भएको छ । बाढीपहिराका बेला उद्धार तथा राहत वितरणमा प्रदेशभर २ हजार ७०४ जना प्रहरी परिचालन गरिएको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) पोषराज पोखरेलले बेपत्ता व्यक्तिको खोजीकार्यसँगै अन्य क्षतिको विवरण संकलनका लागि नेपाल प्रहरी अहिले पनि प्रभावित क्षेत्रमा खटिइरहेकाले उल्लेखित विवरणमा थपघट हुनसक्ने जानकारी दिए ।
पहिराले कर्णाली क्षेत्रको अवरुद्ध यातायात आंशिकरुपमा सञ्चालनमा आए पनि पूर्णरुपमा यातायात सञ्चालनमा ल्याउन अझै केही दिन लाग्नेछ । कर्णाली राजमार्ग कर्णाली करिडोर (हुम्ला जाने), रत्न राजमार्गसहित जाजरकोट, दैलेख जाने सडकमा ठूलो क्षति भएको छ ।
‘पूर्णरुपमा विच्छेद भएको सडक सञ्जाल आंशिकरुपमा सञ्चालनमा आएको छ’, प्रदेश प्रहरी कार्यालयका प्रमुख पोखरेलले भने, ‘पूर्णरुपमा विच्छेद भएको कर्णाली करिडोर र कर्णाली राजमार्ग खुल्न अझै महिना दिन बढी लाग्ने देखिन्छ ।’
उनका अनुसार मुख्य राजमार्ग मात्र नभएर कतिपय सहायक राजमार्ग पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् । पहिराले दर्जनौँ स्थानमा राजमार्ग अवरुद्ध भएपछि राहत र उद्धारमा पनि कठिनाइ भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विस्थापितलाई सरकारले हेलिकप्टरमार्फत राहत वितरण गरिरहेको पनि डिआइजी पोखरेलले जानकारी दिए । सडक सञ्जाल विच्छेद भएपछि हेलिकप्टरमार्फत टेण्ट, कम्बलसहित अन्य राहतका सामग्री बाढीपहिरो प्रभावित जिल्लामा पुर्याइएको छ । रासस