
उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिंगालको शिकार गर्न लाग्दा चिलेर मृत्यु भएको छ । साथीसँग नजिकैको जंगलको रुखमा चढेर अरिंगालको गोला टिप्ने प्रयास गरेपछि दर्जनौँ अरिंगालले चिलेकाले जाँते चौलानेका ३४ वर्षीय दिवस राईको मृत्यु भएको स्थानीयवासी दीपेन्द्रकुमार राईले बताए । अरिंगालले चिलेर अन्य चार युवा घाइते भएको पनि उनले जानकारी दिए ।
बिहीबार गाउँ नजिकैको जंगलमा कालो अरिंगालको शिकार गर्न दिवशसहित अन्य युवा रातको समयमा गएका र रुखमा चढेर अरिंगाल टिप्ने प्रयास गर्दा दर्जनौँ अरिंगालले दिवशसहितका अन्य रुखमा चढेका युवालाई टोकेर बेहोस बनाएको अर्का स्थानीयवासी धनबहादुर राईले बताए ।
अरिंगालको टोकाइबाट बेहोस भएका दिवशको शनिवार बिहान मृत्यु भएको थियो भने अन्य चार जनाको पनि स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि अहिले घरमा घरेलु उपचार भइरहेको उनले जानकारी गराए ।
बर्सेनि जाँते नजिकैको पाखाका जंगल र चौलानेका जंगलमा स्थानीयवासीले अरिंगालको शिकार गर्दै आएका छन् । यसपटक पनि कालो अरिंगालको शिकार गर्न गएका दिवशसहितका युवाले अरु शिकारीले छाडेका कालो अरिंगालको गोलो शिकार गर्न लाग्दा पहिल्यै अरिंगालले आक्रमण गरेको धनबहादुरको भनाइ थियो । रासस