२६ असार २०८३, शुक्रबार
मलको समस्या

धान भित्र्याउन नपाउँदै गहुँका लागि मलको चिन्ता, हिउँदे बालीलाई कहिले पाइन्छ मल ?

असोज ३१, २०७९
धान भित्र्याउन नपाउँदै गहुँका लागि मलको चिन्ता, हिउँदे बालीलाई कहिले पाइन्छ मल ?

धान बाली भित्र्याउने समय हुन लाग्दा किसानलाई गहुँ तथा आलु लगायतका बालीमा प्रयोग गर्ने रासायनिक मलको चिन्ता हुन थालेको छ  ।

धादिङ, काभ्रे, चितवनलगायतका किसानहरूले गहुँ बालीमा राख्नका लागि मल आवश्यक हुने भएपनि बजारमा मल अभाव हुने अवस्था आएको गुनासो गर्न शुरू गरिसकेका छन् ।

धानका लागि जेनतेन मल पुर्‍याएका किसानले गहुँ बालीमा भने मल अभाव हुन सक्ने चिन्ता पर्न थालेको गुनासो गरेका हुन् । 

किसानलाई मल अभाव हुन सक्ने संकेत देखेर कतिपय राजनीतिक दलका उम्मेदवारहरू भने रसायनिक मललाई चुनावी एजेण्डा बनाउन समेत तम्सिएका छन् । 

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूले आफूले जिते मलको सहज व्यवस्था गराइदिने दाबी एकातिर गरिरहेको पाइन्छ भने अर्कातिर किसानहरूले पनि ‘नो मल, नो भोट’  अभियान चलाउनुपर्ने अवस्था आएको बताउन थालेका छन् । 

गत वर्षदेखि नै मल समयमा उपलब्ध नभएको र यसपटक पनि मल अभाव उस्तै रहेको किसानहरूको गुनासो छ ।

सहकारीमा मल व्यवस्थापन हुने भनिए पनि उचित मात्रामा मल नपाइने गरेको गुनासो किसानहरूले गर्दै आएका छन् ।

गहुँलाई कति आवश्यक पर्छ मल ? 

मौसम अनुकूल हुँदा सामान्यतयाः कात्तिक अन्तिम हुँदै मंसिर पहिलो सातादेखि गहुँ खेती शुरू हुन्छ । 

७ लाख हेक्टर जमिनमा गहुँ खेती हुने बाली अनुसन्धान केन्द्र (नार्क)ले जनाएको छ । 

राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्रका प्रमुख रोशन बस्नेतले हाल मुलुकभर करीब ७ लाख हेक्टर खेतीयोग्य जग्गामा गहुँ बाली लगाइँदै आएको जानकारी दिए । 

उनका अनुसार, ७ लाख हेक्टर जग्गामा गहुँका लागि प्रतिहेक्टर १२० केजी नाइट्रोजन, ५० किलो फस्फोरस र ४० किलो पोटास छरिने गरिएको छ ।

उनका अनुसार विशेष गरी गहुँ बालीलाई २ पटक वा ३ पटक मल राख्नु उचित हुन्छ ।

गहुँ छर्ने समयमा प्रति हेक्टर करीब ६० किलो नाइट्रोजन, २५ किलो फस्फोरस र २० किलो पोटास छर्नुपर्ने नार्कको अध्ययनले देखाएको उनले बताए । 

बाँकी मल भने त्यसको केही महिनापछि प्रयोग गर्दा उचित हुने उनको भनाइ छ । हाल नेपालमा वार्षिक २० लाख टन गहुँ उत्पादन हुँदै आएको छ ।

यस्तै बाह्य मुलुकबाट करीब ४ लाख टन गहुँ वार्षिक आयात हुने गरेको प्रमुख बस्नेतको भनाइ छ ।

उनले भने, ‘समयमा मल र पानी दिन सकेमा पनि गहुँ आयातको अवस्था नआउने देखिन्छ ।’  

‘मल आयात प्रक्रियामै छ, अभाव हुँदैन’

कृषि सामाग्री कम्पनी लिमिटेडले यस आर्थिक वर्षमा १ लाख मेट्रिक टन मलका लागि ग्लोबल टेन्डर आह्वान गरेको थियो, जसमध्ये ३० हजार मेट्रिक टन युरिया आइसकेको र धानमा त्यसको प्रयोग गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । 

उनका अनुसार, लिमिटेडले ४० हजार मेट्रिक टन डीएपी प्राप्त भइरहेको जानकारी दिएको छ । 

बाँकी ३० हजार मेट्रिक टन युरिया विशाखापटनम बन्दरगाहमा रेलवे रेसिप्टको क्रममा रहेको उनले जानकारी दिए । 

यता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडअन्तर्गत ३० हजार मेट्रिक टन युरिया मल असोज ३१ गतेसम्ममा वीरगञ्ज आइपुग्ने मन्त्रालयले जनाएको छ । 

प्रवक्ता सञ्जेलका अनुसार, सो  परिणामको युरिया मल भारतको विशाखापटनम बन्दरगाहमा नेपालका लागि लोडिङ भइरहेको उनको भनाइ छ । 

यस्तै लिमिटेडले २७ हजार ५ सय मेट्रिक टन युरिया मलको खरिदका लागि सम्झौता भइसकेको उनको भनाइ छ ।

प्रवक्ता सञ्जेलका अनुसार, सो मल मंसिर पहिलो हप्ता नेपाल आइसक्ने कम्पनीले जानकारी दिएको छ ।

यस्तै सरकारले भारतसँग जी टु जी प्रावधानअन्तर्गत ३० हजार मेट्रिक टन युरिया खरिदका लागि भारतलाई ‘पर्चेज अर्डर’ पठाएको मन्त्रालयले जनाएको छ । 

मल उपलब्ध गराउने भारतीय कम्पनी आरसीएफलाई अग्रिम भुक्तानीका लागि कार्य भइरहेको मन्त्रालयका प्रवक्ता सञ्जेल बताउँछन् । 

उनले सो मल कात्तिक मसान्तसम्म नेपाल आइपुग्ने विश्वास गरिएको जानकारी दिए । 

यस्तै साल्ट ट्रेडिङअन्तर्गत २० हजार मेट्रिक टन डीएपी मल खरिदका लागि टेन्डर भई खरिद सम्झौता हुने क्रममा रहेको मन्त्रालयको भनाइ छ । 

सो मल मंसिर अन्तिमसम्म नेपाल आइपुग्ने जानकारी पाइएको उनी बताउँछन् । 

कति छ मौज्दात ? 

कृषि मन्त्रालयका अनुसार हाल मुलुकमा ७ हजार ९८० मेट्रिक टन युरिया, ४२ हजार ९९३.७५ मेट्रिक टन डिएपी र ४ हजार ३२२.३ मेट्रिक टन पोटास मल मौज्दातमा रहेको छ । जसमध्ये साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग २ हजार ८८१.४० मेट्रिक टन युरिया, २ हजार ३९३.७५ मेट्रिक टन डीएपी र १६७.७० मेट्रिक टन पोटास मौज्दातमा रहेको छ । 

यस्तै कृषि सामाग्री  कम्पनी लिमिटेडसँग ५ हजार ९८.६ मेट्रिक टन युरिया, ४० हजार ६ सय मेट्रिक टन डीएपी र ४ हजार १५४.५५ मेट्रिक टन पोटास मौज्दातमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

निमित्त कार्यकारी निर्देशक भन्छन्– ढुक्क हुनुस्, मल अभाव हुँदैन

मल व्यवस्थापनको जिम्मा पाएकोमध्ये मुख्य कृषि सामाग्री केन्द्र लिमिटेडले गहुँ तथा अन्य बालीका लागि अहिले रसायनिक मल अभाव हुने अवस्था नरहेको दाबी गरेको छ । 

केन्द्रका निमित्त कार्यकारी निर्देशक राजेन्द्र कार्कीले मल अभाव नहुने भन्दै त्यसमा ढुक्क हुन आग्रह गरे । 

उनले  यतिञ्जेल मल बिक्री रोकिराखेको र समय आएपछि बिक्रीका लागि खुला गरिएको समेत सुनाए । 

उनले भने, ‘आइतवारभन्दा अगाडिसम्म बजारमा मल नभएको हल्ला सत्य हो । तर आइतवारदेखि नै हामीले मल बिक्री खुला गरेका छौँ,’ उनले लोकान्तरसँग भने, ‘अब मल अभावको गुनासो सुनिँदैन भन्ने विश्वास छ ।’

उनले अब आफ्नो कारणले मल अभाव नहुने भन्दै  मल बिक्री खुला भएपछि के–कसरी बिक्री गर्ने भन्ने प्रदेश सरकारको जिम्मेवारी  रहने समेत बताए । 

‘मल बिक्री खुला गरिएको छ, अब प्रदेश सरकारले के–कसरी मल बिक्री व्यवस्थापन गर्ने भन्ने विषयमा तत्कालै निर्णय गरेर सहकारीसम्म मलको फ्लो पुर्‍याउनुपर्छ,’ उनले भने । 

उनले अहिले गहुँ बालीका लागि करीब ६० हजार मेट्रिक टन डिएपी मल आवश्यक पर्ने र सो मात्रामा मौज्दात नै रहेको बताए ।

अन्य तरकारीहरूका लागि पनि अहिले प्रक्रियामा रहेको मल आइपुग्ने अवस्था रहेको उनको जिकिर छ ।

‘केही दिनमै थप मल आइपुग्छ, यसपटक मल अभाव हुँदैन भन्नेमा हामी ढुक्क छौँ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्