
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मकवानपुरमा चुनावी सरगर्मी बढाएको छ ।
प्रमुख राजनीतिक दलका नेताहरूदेखि साना दल र स्वतन्त्र व्यक्तिको उम्मेदवारीले झनै चुनावी रौनक बढाएको छ ।
बागमती प्रदेशकै राजधानी समेत रहेको मकवानपुरमा मंसिर ४ गते हुने निर्वाचन निकै रोचक हुने देखिन्छ । २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ६९ जनाले उम्मेदवारी दर्ता गराएसँगै सामान्य चिया पसलदेखि चौतारासम्म अब कसले बाजी मार्ला भन्ने चर्चा समेत शुरू भएको देखिन्छ । २ प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्रका लागि दल र स्वतन्त्रबाट ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये प्रतिनिधिसभा सदस्यका लागि २६ र प्रदेशसभा सदस्यका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लामा २ नम्बर प्रतिनिधिसभा क्षेत्रमा सबैको चासो देखिन्छ । त्यहाँ सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट बागमती प्रदेश कमिटी उपसचिव महेश बर्तौला चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
खतिवडा लामो समय नेकपा एमालेबाट राजनीति गरेर हाल नेकपा एमाले विभाजन भएसँगै बनेको नयाँ नेकपा एकीकृत समाजवादी पार्टीमा रहेका छन् । २०४६ सालपछि भएका सबै निर्वाचनमा एमालेको तर्फबाट खतिवडा विजयी हुँदै आएका थिए । २०४८, २०५१, २०५६ र २०७४ सालको निर्वाचनमा खतिवडा विजयी भएका थिए । गत निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रही विजयी भएका खतिवडालाई आफ्नै पुरानो पार्टीका नयाँ युवा नेतासँग प्रतिस्पर्धा गर्नुपर्ने स्थितिले पनि थप चुनौती देखिएको छ ।
२०४८ सालअघिको युवा पुस्ताले निरन्तर जिताउँदै आएका उनलाई २०५१, २०५६ र २०७४ सालमा समेत जिताएको भन्दै अब नयाँ युवालाई अवसर दिनुपर्ने चर्चा शुरू भएपछि उनी अप्ठ्यारोमा परेका जनाइएको छ ।
खतिवडाले राकसिराङ गाउँपालिकामा पार्टीले आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित विस्तारित बैठक तथा छलफल कार्यक्रममा बोल्दै भने, ‘झापामा चुनाव लड्न लागेका एमाले अध्यक्ष केपी शर्मा ओली बुढो भए हट्नुस् भनेर टेलिभिजनमा भन्नुस्, यहाँबाट म पनि हट्छु । उनीहरूले भन्न सक्दैनन्, पुच्छर लुकाएर भाग्छन् ।’
झापा गए बुढो चाहिने र अन्य ठाउँमा युवा चाहिने भन्दै उनले आक्रोश व्यक्त गरे । खतिवडा निरन्तर सोही क्षेत्रमा विजयी हुँदै सांसद भए पनि खासै उपलब्धिमूलक कामहरू नगरेको भन्दै आलोचना समेत हुँदै आएको छ ।
नेकपा एमालेबाट उम्मेदवारी दिएका महेश बर्ताैला विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा नयाँ आएका युवा नेता हुन् । पहिलोपटक संसदीय निर्वाचनमा होमिएका उनी नयाँ पुस्तान्तरणको विषयमा बोल्दै आएका छन् । एमाले आफ्नो विजयी यात्रालाई निरन्तरता दिँदै १ वटा प्रतिनिधिसभा सदस्य र २ वटा प्रदेशसभा सदस्य गरी ३ वटै क्षेत्र जित्ने रणनीतिका साथ लागेको देखिन्छ ।
गठबन्धनमा आवद्ध दलहरू एमालेको गढ भत्काउने रणनीतिका साथ चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् । सो क्षेत्रमा थाहा नगरपालिका, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर, मनहरी, कैलाश, गाउँपालिकाहरूसहित हेटौंडा उपमहानगरपालिका पश्चिम तर्फका वडाहरू १, ११, ३, १९ र मकवानपुरगढी गाउँपालिकाको उत्तर तर्फका ५, ६, ७ र ८ नम्बर वडा पर्छन् ।