२१ असार २०८३, आइतबार
भुँडीले तनाव

बिलखबन्दमा सशस्त्रका सकल दर्जा : भुँडी बढे वा दुब्लो भए बढुवा नहुने, मिसन पनि रोकिने !

कात्तिक ३, २०७९
बिलखबन्दमा सशस्त्रका सकल दर्जा : भुँडी बढे वा दुब्लो भए बढुवा नहुने, मिसन पनि रोकिने !

फौजी संगठनमा शारीरिक तन्दुरुस्ती पहिलो प्राथामिकता मानिन्छ । त्यसैले हरेक फौजमा बिहान अनिवार्य पिटी परेड हुन्छ ।

यसले फौजका हरेक सदस्य चाहेको समयमा लडाईंको मैदानमा उत्रिन तयार रहन्छन् भन्ने सामान्य मान्यता हुन्छ ।

विश्वका हरेक फौजी संगठनले सदस्यहरूको तन्दुरुस्तीका लागि ‘बडी मास्क इन्डेक्स’ (बीएमआई) लागू गरेका छन् । यो भनेको व्यक्तिको उचाइ अनुसारको तौल हुनु हो ।

यसबीचमा सशस्त्र प्रहरी बलले उचाइ अनुसारको तौल बनाउन कार्यविधि बनाएर लागू गरेको छ । संगठनमा आबद्ध सम्पूर्ण कर्मचारीलाई १ वर्षभित्र बीएमआईको मापदण्डभित्र आउन निर्देशन जारी गरेको छ ।

एक वर्षभित्र आफ्नो उचाइ अनुसारको तौल कायम राख्न निर्देशन दिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापाले बताए ।

‘हामीले उचाइ अनुसारको तौल मेन्टेन गर्नका लागि कार्यविधि बनाएर निर्देशन सर्कुलर गरेका छौं,’ एसएसपी थापाले लोकान्तरसँग भने ।

स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधि, २०७९ लागू गरेर १ वर्ष भित्रमा देशभरका सबै कर्मचारीलाई आफ्नो शरीरको तौल मेन्टेन गर्न भनिएको छ ।

सशस्त्रले यो कार्यविधिलाई सशस्त्र प्रहरी नियमावलीमा समेत समेट्ने तयारी गरेको छ । ‘हामीले यसलाई नियमावलीमा संशोधन गरेर थप गर्ने तयारी गरेका छौं,’ प्रवक्ता थापाले भने ।

अब अत्यधिक मोटा र भुँडी लागेकाहरूले आफ्नो तौल नघटाएमा र अत्यन्तै दुब्लाहरूले आफ्नो तौल नबढाएमा बढुवा, विदेशमा हुने तालिम, सरुवा र शान्ति मिसनमा जानबाट समेत वञ्चित हुने भएका छन् । 

‘फौजी संगठनमा आफ्नो कर्तव्य पालनाका लागि हरेक पल तयार हुनुपर्ने भएकाले शरीरलाई तन्दुरुस्त राख्नु जरुरी छ,’ एसएसपी थापाले भने, ‘फौजी भनेपछि शरीर फिट हुनैपर्छ ।’

सशस्त्र प्रहरीले कार्यसम्पादन र कर्मचारीको स्वास्थ्यलाई मध्यनजर गरेर यो कार्यविधि लागू गरेको जनाएको छ ।

पहिलो चरणमा अहिले सशस्त्रले देशभरमा रहेका सशस्त्र प्रहरीका कति कर्मचारी अति मोटा कर्मचारी र अति दुब्ला छन् भन्ने तथ्याङ्क संकलन गरिरहेको छ । 

पहिलो चरणमा अधिकृतभन्दा माथिका सकल दर्जाको तथ्यांक संकलन भइरहेको छ । दोस्रो चरणमा तल्लो तहका कर्मचारीको तथ्यांक संकलन गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

‘अहिले चुनाव नजिक आएकाले माथिल्लो दर्जाका कर्मचारीहरूको तथ्यांक संकलन गरिरहेका छौं । चुनावपछि सबै कर्मचारीको तथ्यांक संकलन गरेर त्यसलाई कार्यान्वयनमा ल्याउने छौं,’ प्रवक्ता थापाले लोकान्तरसँग भने ।

विषेश खालका रोगी, सुत्केरी लगायतको हकमा विषेश मेडिकल टोलीले सिफारिश गरेको खण्डमा केही समयका लागि यो छूट हुने एसएसपी थापाले बताए ।

‘विषेश खालका रोगी, सुत्केरीलगायतका कर्मचारीलाई भने केही छुट हुन्छ, तर त्यो पूर्ण छुट भने होइन,’ एसएसपी थापाले भने ।

उनका अनुसार आफ्नो शरीर फिट राख्न केही समय दिएर व्यवस्था गरिएको छ । सुगर लगायतका बिरामीले पनि नियमित व्यायाम गरेर स्वास्थ्य तन्दुरुस्त राख्न सक्ने भएकाले उनीहरूका लागि पनि यो व्यवस्था अनिवार्य हुने उनको भनाइ छ ।

सशस्त्र सकल दर्जाको स्वास्थ्यलाई मध्यनजर गरेर केन्द्रमा प्रशासन निर्देशनालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा वार्ड गठन गरिएको छ । र, हरेक बाहिनीमा सहायक बाहिनीपतिको नेतृत्वमा मेडिकल बोर्ड गठन भएको छ । 

बीएमआईको विषयमा पहिलेदेखि नै कुरा उठे पनि संगठन प्रमुखको रूपमा आईजीपी राजु अर्याल आएपछि यस विषयमा अध्ययनका लागि समिति बनाएका थिए । त्यो समितिको सिफारिशका आधारमा कार्याविधि तयार भएर लागू भएको हो ।

सशस्त्र प्रहरीमा बीएमआई लागू गर्ने निर्णय राम्रो भएको सशस्त्र प्रहरी पूर्व डीआईजी कृष्णभक्त ब्रम्हाचार्यले बताए । 

‘यो धेरै राम्रो कुरा हो । फौजी संगठनमा शारीरिक तन्दुरुस्ती अनिवार्य हुन्छ । फौजी भनेपछि फिट देखिन जरुरी छ,’ पूर्व डीआईजी ब्रम्हाचार्यले लोकान्तरसँग भने, ‘विगतमा यो लागू गर्ने कुरा उठेका थिए, तर अहिले आएर लागू हुनु राम्रो हो ।’

अन्य देशमा हरेक फौजी संगठनमा बीएमआई अनिवार्य रहेको उनले बताए । नेपालमा पनि नेपाली सेनाले शान्ति मिसनमा जानेहरूको हकमा बीएमआई अनिवार्य गरेको छ ।

 

कमेन्ट गर्नुहोस्