१० साउन २०८३, आइतबार
प्रदेशसभा निर्वाचन

लुम्बिनीमा भावी मुख्यमन्त्रीको ‘रेस’ : पुराना नदोहोरिने भएपछि नयाँ आकांक्षीको लर्को

कात्तिक ३, २०७९
लुम्बिनीमा भावी मुख्यमन्त्रीको ‘रेस’ : पुराना नदोहोरिने भएपछि नयाँ आकांक्षीको लर्को

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै भावी मुख्यमन्त्रीको चर्चा शुरू भएको छ । 

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका आधा दर्जनभन्दा बढी नेता मुख्यमन्त्रीको ‘रेस’ मा देखिएका छन् । 

लुम्बिनी प्रदेशसभामा ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ सदस्य प्रदेश सांसदका लागि आउँदो मंसिर ४ गते एकसाथ चुनाव हुँदैछ । 

२०७४ मा एमाले–माओवादीको तालमेलपछि ‘हेभीवेट’ नेता शंकर पोखरेल प्रदेशसभा चुनाव लडेर मुख्यमन्त्री बनेका थिए । 

यसपटक कुनै पनि दलबाट निश्चित उम्मेदवार मुख्यमन्त्री बन्ने भन्ने देखिएको छैन । 

यो प्रदेशमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चामा संगठन/शक्ति कमजोर भएकाले भावी मुख्यमन्त्रीमा कुनै पनि नेताको दाबी देखिँदैन । 

हालका मुख्यमन्त्री कूलप्रसाद केसी अहिले उम्मेदवार छैनन् भने संस्थापक मुख्यमन्त्री तथा एमाले महासचिव पोखरेल प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । अहिले प्रदेशसभामा ‘हेभीवेट’ उम्मेदवार छैनन् । 

कपिलवस्तु– ३ (२) बाट कांग्रेसका उम्मेदवार वीरेन्द्र कनोडिया भावी मुख्यमन्त्रीको मुख्य दाबेदार हुन् ।

निवर्तमान प्रदेशसभा संसदीय दलका नेता समेत रहेका कनोडिया चुनावअघि नै मुख्यमन्त्री बन्ने चर्चा थियो ।

केन्द्रबाट प्रदेश सरकार हेरफेर नगर्ने निर्देशनपछि मुख्यमन्त्री बन्न नसकेका कनोडियाको मृगतृष्णा अझै छ । 

त्यस्तै कांग्रेसबाटै रूपन्देही–१ (२) का उम्मेदवार अब्दुल रज्जाकलाई पनि भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ ।

यस अगाडि २०७० मा रूपन्देही– १ बाट चुनाव जितेका केन्द्रीय सदस्य रज्जाकलाई मुख्यमन्त्रीमा अगाडि सार्न सक्ने चर्चा कतिपयले गर्ने गरेका छन् । 

कांग्रेसका प्रदेश सभापति समेत रहेका रोल्पाली नेता अम्मरसिंह पुन मगर मुख्यमन्त्री हुने गरी प्रदेशसभामा उम्मेदवार बनेको कांग्रेस नेताहरू बताउँछन् ।

पुन रोल्पा–२ (२) मा उम्मेदवार छन् । पुनका विरुद्ध माओवादी बागी उम्मेदवार खडा भएको हुँदा उनलाई चुनाव जित्न चुनौती देखिएको छ । 

त्यस्तै दाङका नेता तथा प्रदेशका पर्यटन विकास मन्त्री डिल्ली चौधरी पनि मुख्यमन्त्रीको लाइनमा छन् । कांग्रेसका मुख्यमन्त्रीका दाबेदारमा पुनबाहेक अरू सबै संस्थापन खेमाका नेता हुन् ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका रज्जाक प्रदेशमा झरेपछि उनीलाई मुख्यमन्त्रीको आश्वासन दिइएको बताइन्छ । कांग्रेसले प्रदेशसभामा ३३ सीटमा आफ्ना उम्मेदवार बनाएको छ । 

नेकपा एमालेबाट रुपन्देही–२ (१) बाट उम्मेदवारी दिएका पार्टीका पोलिटब्युरो सदस्य एवं प्रदेश सह–इञ्चार्ज लीला गिरी मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । पोखरेल नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका नेता गिरी एमालेका अन्य आकांक्षीभन्दा ‘सिनियर’ नेतामा पर्छन् । 

गिरी सँगैसँगै रूपन्देही–२ (२) का उम्मेदवार पार्टी प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, रूपन्देही–१ (२) का उम्मेदवार एवं पोलिटब्युरो सदस्य तथा प्रदेश सह-इञ्चार्ज दधिराम न्यौपाने (माधव), दाङ तुल्सीपुरका पूर्वमेयर तथा केन्द्रीय सदस्य घनश्याम पाण्डे पनि दाबेदार रहेको एमालेका प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बताए ।   

गिरी, श्रेष्ठ र न्यौपाने यसअगाडि २०७४ मा निर्वाचित सांसद हुन् । पोखरेल नेतृत्वको सरकारमा गिरीभन्दा माथिल्लो वरीयतामा भौतिक पूर्वाधार विकास मन्त्री र पछि आर्थिक मामिला तथा योजना मन्त्री रहेका नवलपरासी पश्चिमका नेता बैजनाथ चौधरी पनि मुख्यमन्त्रीका आकांक्षी थिए । तर, तर चौधरीले टिकट नै पाएनन् । 

‘हामीले भावी मुख्यमन्त्री यो नेता नै हो भनेर अगाडि सारेको छैनौं,’ अध्यक्ष कंडेलले लोकान्तरसँग भने, ‘निर्वाचनको परिणामपछि को मुख्यमन्त्री हुनुहुन्छ भन्ने थाहा होला । हामी एकल सरकार बनाउने गरी परिणाम ल्याउने लक्ष्यका साथ चुनावमा लागेका छौं ।’ 

यसअघि २०७४ मा प्रदेशमा एमालेले प्रत्यक्षतर्फ २९ र समानुपातिकतर्फ १३ गरी ४२ सीट जितेको थियो ।

कंडेलले थपे, ‘अहिले पनि हामीले यसअघिको जत्तिकै प्रत्यक्षमा जित निकाल्छौं भने अपेक्षा छ ।’ 

माओवादीबाट निर्वाचित न्यौपाने तत्कालीन नेकपा विभाजनपछि एमालेमा बसेका नेता हुन् । एमालेले प्रदेशका ४७ क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ । 

त्यस्तै माओवादी केन्द्रबाट गुल्मीका सुदर्शन बराल मुख्यमन्त्रीका प्रमुख दाबेदारको रूपमा देखिएका छन् । 

शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री भएर विवादरहित र स्वच्छ छवि बनाएका बराल माओवादीभित्र बौद्धिक र अरूभन्दा कुशल नेतृत्व क्षमताका नेता मानिन्छन् । 

उनीसँगै पोलिटब्युरो सदस्य रोल्पाका जोखबहादुर महरा अर्का दाबेदार हुन् । महरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पूर्व स्वकीय सचिव हुन् । 

त्यस्तै रुपन्देही–२ (२) का उम्मेदवार वामदेव क्षेत्री पनि आफूलाई भावी मुख्यमन्त्री बनेर प्रदेश हाँक्ने इच्छा रहेको बताउँछन् । उनले यसअघि प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए । 

नेता बरालले भावी मुख्यमन्त्रीबारे छलफल नभए पनि माओवादी नेतृत्वमा सरकार बने अवस्था आए आफू मुख्यमन्त्री बन्ने संकेत घुमाउरो पारामा गरे । 

‘हामी अहिले मुख्यमन्त्री को बन्ने भन्ने विषयमा प्रवेश नै गरेका छैनौं,’ नेता बरालले लोकान्तरसँग भने, ‘पार्टीबाट प्रदेशमा धेरै सिनियर नेताहरू हुनुहुन्छ । परिणाम के आउँछ, त्यही अनुसार हामी अगाडि बढ्छौं ।’ 

प्रदेशसभामा माओवादीले १७ निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दिएको छ । नेकपा एकीकृत समाजवादीलाई गठबन्धनले प्रदेशसभाको कुनै पनि क्षेत्रमा टिकट दिएको छैन । 

पहाडका ६ र तराईका ६ जिल्ला गरी लुम्बिनीमा १२ जिल्ला पर्छन् । यो प्रदेशमा ३२ लाख ४९ हजार ६३७ मतदाता रहेका छन् । त्यसमध्ये पुरुष १६ लाख ३७ हजार १३३, महिला १६ लाख १४ हजार ४७१ र अन्य ३४ जना रहेका छन् ।

प्रदेशमा मतदानस्थल १ हजार ६५० र मतदान केन्द्र ३ हजार ८६२ रहेको निर्वाचन आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्