०८ असार २०८३, सोमबार
भ्रष्टाचारको नमूना

अख्तियारको फन्दामा परेका इन्जिनीयरको सोख– ५ तोलाको सिक्री, ४ तोलाको औंठी र आइफोन १४ प्रो !

कात्तिक ३, २०७९
अख्तियारको फन्दामा परेका इन्जिनीयरको सोख– ५ तोलाको सिक्री, ४ तोलाको औंठी र आइफोन १४ प्रो !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेका डिभिजन खानेपानी कार्यालय रामेछाप मन्थलीका इन्जिनीयर नवराज सत्यालको अस्वाभाविक सम्पत्ति देख्दा अख्तियारका अनुसन्धान अधिकृतहरू चकित परेका छन् । 

गैरकानूनी आर्जनबाट उनले महंगा र विलासिताका सामाग्री संकलन गरेको पाइएको हो । 

डिभिजन खानेपानी कार्यालय रामेछापमा कार्यरत आठौं तहका इन्जिनीयर सत्याललाई अख्तियारले २८ लाख घुससहित बुधवार नियन्त्रणमा लिएको थियो । 

बिहीवार अख्तियारले म्याद थपका लागि उनलाई विशेष अदालतमा लगेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा इन्जिनीयर सत्यालले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको पाइएको हो ।

‘गलामा ५ तोलाको सुनको सिक्री, हातमा ४ तोलाको सुनको औँठी र आइफोन १४ प्रो मोबाइल बोक्दा रहेछन्,’ अख्तियार स्रोतले लोकान्तरसँग भन्यो, ‘गैर कानूनी कमाइबाट महंगा विलासी सामान जोडेको पाइयो, अनुसन्धानको क्रममा थप खुल्दै जाला ।’

खानेपानी तथा सरसफाइ डिभिजन नं. ४ बाग्मती प्रदेश, मन्थली रामेछापका आठौं तहका इन्जिनीयर सत्याल र करारमा कार्यरत प्लम्बर बखतबहादुर थापालाई हिजो अख्तियारले नियन्त्रणमा लिएको थियो । 

२०५५ सालमा सरकारी सेवामा प्रवेश गरेका सत्याल २४ वर्षदेखि एउटै कार्यालयमा बसिरहेका थिए । 

प्रत्येक आयोजनाबाट १५ देखि २० प्रतिशत रकम कमिसनको रूपमा लिने गरेको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

सरकारी सेवामा प्रवेश गरेको केही वर्षमै उनले भक्तपुरमा आलिसान घर बनाएका छन् भने निजी गाडी खरिद गरेका छन् । 

कम्प्युटरको टेबलमा भेटिएको थियो नौ लाख 

१६ लाख नगद र १२ लाखको चेक (२८ लाख) सहित पक्राउ परेका इन्जिनीयर सत्यालबाट अख्तियारले थप ९ लाख रुपैयाँ समेत बरामद गरेको थियो ।

९ लाख रुपैयाँ कम्प्युटरको टेबलभित्र लुकाइएको अवस्थामा फेला परेको अख्तियार स्रोतले बतायो । 

‘यो सबै रकम विभिन्न आयोजना र ठेक्कापट्टाको कमिसनबाट आएको पाइएको छ,’ अख्तियार स्रोतले भन्यो । 

‘खानेपानीसम्बन्धी कामको भुक्तानीबाापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले र थापालाई सेवाग्राहीबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा मन्थली १ स्थित इन्जिनीयरको निवासबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियार स्रोतका अनुसार इन्जिनीयर सत्यालले करारमा काम गरिरहेका प्लम्बर थापालाई पैसा बार्गेनिङ गर्ने र पैसा जम्मा गर्ने काममा लगाउँदै आएका थिए । 

नयाँ नेतृत्व आएपछि अख्तियारले ठूला माछालाई नियन्त्रणमा लिन शुरू गरेको छ । 

यसअघि गत महिना अख्तियारले पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई १६ लाख घुससहित नियन्त्रणमा लिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्