०२ साउन २०८३, शनिबार

नवौँ राष्ट्रिय खेलकुद : एपीएफलाई फुटबलको स्वर्ण

कात्तिक ३, २०७९
नवौँ राष्ट्रिय खेलकुद : एपीएफलाई फुटबलको स्वर्ण

डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा स्तब्ध बनाउँदै एपीएफ क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा भएको फाइनल प्रतिष्पर्धामा एपीएफले सडन डेथमा आर्मीलाई हराउँदै स्वर्ण पदक जितेको थियो । 

एपीएफले पेनाल्टी सुटआउटमा ६–५ अन्तरले पराजित गरेको हो । यसअघि निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीमा एक–एक खेलाडीले रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । त्यसपछि १० खेलाडीमा सीमित भएका दुवै टोलीबाट प्रतिष्पर्धात्मक खेल भएको थियो ।

खेल अवधिभर एपीएफले आर्मीमाथि दबाब दिएर खेल्दै सुनौलो अवसर बुने पनि सदुपयोग गर्न चुकेको थियो । आर्मीले पनि केही राम्रा अवसर खेर फाल्न पुगेको थियो । यस पराजयसँगै आर्मीले पुरुष फुटबलमा रजत पदकमा चित्त बुझाएको छ । 

उता कास्य पदकका लागि भएको प्रतिष्पर्धामा सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै गण्डकी तेस्रो भयो । गण्डकीको जितमा कमल थापाले फ्रिकिकमार्फत गरेको गोल निर्णायक भएको थियो । यस्तै, महिला फुटबलमा भने विभागीय टोली एपिएफ क्लबले स्वर्ण जितेको छ । स्याङ्जाको वालिङमा बिहीवार भएको फाइनल प्रतिष्पर्धामा एपिएफले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले स्तब्ध बनाउँदै स्वर्ण पदक जितेको हो । 

निकै रोमाञ्चक बनेको खेलमा एपीएफले स्वर्ण पदकमा बाजी मार्दा दुवै गोल सावित्रा भण्डारीले गरेकी हुन् भने पुलिसका लागि निरु थापाले एक गोल फर्काएकी थिइन् । दुई गोल गरेकी सावित्राले सबै खेलमा गोल गरेकी छन् । उनले प्रतियोगिताभर १४ गोल गर्न सफल भइन् ।

यस्तै महिला फुटबलमा त्रिभुवन आर्मी क्लबले कास्य पदक जितेको छ । तेस्रो स्थानको प्रतिष्पर्धामा आर्मीले प्रदेश १ लाई ७–० ले पराजित गर्दै कास्य पदक जितेको हो । आर्मीको जितमा स्ट्राइकर अमिशा कार्कीले ह्याट्रिक गरिन् । यसबाहेक कप्तान हिमा चौधरी, चन्द्रा भण्डारी र कुसुम खतिवडाले एकएक गोल गरे । खेलको तेस्रो मिनेटमै हिमाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् । अमिशाले खेलको ५, ३५ र ४६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्