
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ ।
राष्ट्रिय गौरवका योजना तथा नगरपालिकाबाट बजेट विनियोजन भएर सञ्चालन गरिएका आयोजना निर्माण कम्पनीको चरम लापरबाहीले अलपत्र परेको जनाउँदै नगरपालिकाले मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन बिहीबारदेखि गणना हुने गरी ३५ दिने समयसीमा तोकेको हो ।
अलपत्र योजनाका काम ३५ दिनभित्र पुनः सुरु नगरेमा सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नेलगायतका कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । “राज्यले करोडौँको लगानी रहेको आयोजनाका काम गर्ने जिम्मा दिइसकेपछि आलटाल, ढिलासुस्ती गर्ने र सम्पर्कमा नआइ राज्यलाई ठगी गर्ने कसैलाई पनि छुट छैन”, उनले भने, “निर्माण व्यवसायीका कारण यो नगरपालिकालाई गैरजिम्मेवार बनाउने प्रयास भएको हाम्रो हठर छ । संयमतापूर्वक गरिएको आग्रहलाई बेवास्ता गरे यसबाट उत्पन्न हुने परिस्थितिको आयोजना व्यवस्थापन गर्ने निकाय र निर्माण कम्पनीले व्यहोर्नुपर्नेछ ।”
नगरप्रमुख भट्टराईले नगरपालिकाभित्र निर्माणाधीन, अधुरा र अलपत्र रहेको १७ वटा योजनाको विवरण बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन् ।