१४ असार २०८३, आइतबार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

कात्तिक ४, २०७९
सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका प्रमुख घटनाक्रमसहित उपस्थित भएका छौँ–
कमेडियन अपूर्वक्षितिज सिंह साढे २ लाख धरौटीमा रिहा भएका छन् । नेवारी संस्कृतीमाथि व्यङ्ग्य गरेको भन्दै अभियान्तले उनी विरुद्ध जिल्ला प्रहरी परिसरमा उजुरी दिएका थिए । प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार उनलाई बिहीवार बिहान १० बजे अदालतमा उपस्थित गराइएको थियो । उनको बिहीवार नै थुनछेक बहस भएको थियो ।
००००
वीर अस्पतालको मिर्गौला प्रत्यारोपण घटनामा अस्पताल र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको छ । मंगलबार धादिङकी ३२ वर्षीय महिलामा  प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेको आरोप लागेको छ । त्यसपछि पीडित पक्ष आन्दोलित बनेका थिए । 

यस सम्बन्धमा बिहीबार अस्पतालमा भएको छलफलमा बिरामीको हालसम्मको उपचार खर्च मिनाहा गर्ने र आगामी दिनको उपचार पनि निःशुल्क गर्ने अस्पताल र बिरामी पक्षबीच सहमति भएको हो ।
यस्तै पीडित पक्षले विस्तृत छानबिनको लागि स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा निवेदन दिने र छानबिन समितिको प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्ने सहमति भएको छ ।
००००
राष्ट्रिय जनमोर्चाको भूमिगत संगठन नेकपा मसाल (पातलो मसाल)बाट विद्रोह गरेको समूहले नेकपा मशाल (मोटो मशाल) ब्यूँताएको छ । जनमोर्चाको भूमिगत मोर्चा मानिने नेकपा (मसाल)बाट विभाजित समूहले नेकपा मशाल ब्युँताएको हो । राष्ट्रिय जनमोर्चा हाल सत्ता गठबन्धनमा रहेको छ, भने विद्रोही संगठन गठबन्धनमा छैन ।

मशालले आगामी निर्वाचनमा भाग नलिने पनि बताएको छ । नेकपा मसालसँग असन्तुष्ट समूहले लुम्बिनीमा सम्पन्न विशेष महाधिवेशनले नेकपा मशालका रूपमा पार्टीलाई अघि बढाउने निर्णय गरेको हो । महाधिवेशनले सन्तबहादुर नेपाली महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको २५ पूर्ण १० वैकल्पिक गरी ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।
००००
पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दलहरूले गठबन्धन गरेर मतदाताहरूको स्वतन्त्र विवेकमा अंकुश लगाउन खोजेको आरोप लगाएका छन् । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘संसदीय प्रणालीमा निष्पक्ष निर्वाचन’ विषयक अन्तरक्रियामा बोल्दै उनले राजनीतिमा गठबन्धन स्वभाविक भए पनि मतदानअघिको गठबन्धनले भने मतदातालाई अप्ठ्यारोमा पार्ने बताए ।
००००
नेकपा एसका उपमहासचिव डा विजय पौडेलले पार्टी  अध्यक्ष माधव कुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले आदेश दिएपछि ज्याजति भएको टिप्पणी गरेका छन् । 

बिहीवार आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई अध्यक्ष नेपाललाई कारबाहीका लागि सिफारिस गरेपछि उपमहासचिव पौडेलले टिप्पणी गरेका हुन् । 
‘स्पष्टीकरण नबुझाउँदै कार्वाहीको आदेश ? यो त ज्यादती भयो’, उनको भनाइ छ ।
००००
असोजको अन्तिम साता कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिराले र्पुयाएको क्षतिको प्रारम्भिक अध्ययन थालिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएका टोलीले अध्ययन सुरु गरेका हुन् । प्राधिकरणले कर्णालीका हुम्ला, जुम्ला, मुगु र कालिकोट जिल्लामा भएको क्षति र नोक्सानीको प्रारम्भिक अध्ययनका लागि वरिष्ठ इञ्जनियरहरूको नेतृत्वमा चारवटा टोली परिचालन गरेको जानकारी दिएको छ ।
००००
गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक १७२ स्वर्ण पदक जितेर च्याम्पियन बनेको छ । ३६ खेलहरूमा सेनाले स्वर्ण १७२, रजत ११० र ८९ कांस्य गरी ३७१ पदक जितेर च्याम्पियन भएको हो ।

च्याम्पियन बनेको सेनालाई समापन समारोहका प्रमुख अतिथि एवं प्रधानमन्त्री शेरबहादुर देउवाले रनिङ ट्रफी हस्तान्तरण गरे । उनले च्याम्पियन बनेको त्रिभुवन आर्मी क्लबका पदाधिकारीहरूलाई सो ट्रफी हस्तान्तरण गरेका हुन् ।

पहिलो पटक राष्ट्रिय खेलकुदको बिजेतालाई सुन र चाँदी समावेश गरेर बनाइएको ट्रफी प्रदान गरिएको हो । सेना यसअघिका सातौँ र आठौँ राष्ट्रिय खेलकुदको पनि च्याम्पियन टोली हो । यसैगरी सशस्त्र प्रहरीको एपिएफले ६५ स्वर्ण ७२ रजत र ८२ कांस्य सहित २१९ पदक जितेर द्वितीय भएको छ ।

नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ कांस्य र ७३ रजत सहित कूल १९५ पदक जितेको छ । घरेलु मैदानको सदुपयोग गर्दै आयोजक गण्डकी प्रदेश प्रतियोगिताको चौथो तथा प्रदेशहरू मध्येमा पहिलो हुन सफल भयो । गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कांस्यसहित १२० पदक समग्रमा चौथो भएको छ ।

बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्यपदक सहित १४५ पदक सहित पाँचौँ स्थानमा रहन सफल भयो ।  प्रदेश नं १ ले १० स्वर्ण २३ रजत र ५० कांस्य पदक सहित छैटौँ भएको छ ।  सुदुरपश्चिम प्रदेश १० स्वर्ण, १० रजत ४३ कांस्य सदकसहित ६३ पदक जित्न सफल भयो ।

एनआरएनएले १० स्वर्ण नौ रजत र सात कांस्य गरी कूल २६ पदक जित्दा लुम्बिनी प्रदेशले छ स्वर्ण, २२ रजत र ४० कांस्य गरी ६८ पदक जितेको छ । मधेश प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ कांस्य गरी ३९ पदक जित्दा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कांस्य सहित १८ पदक जितेको छ ।
००००
यसैबीच नवौँ राष्ट्रिय खेलकुद बिहीबार समापन गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा समापन समारोहमा सहभागी थिए । दसौँ राष्ट्रिय खेलकुद अब कर्णालीमा हुनेछ । 
००००
निर्वाचन आयोगले सरकार र मातहतका निकायले विभिन्न कामको अनुमतिका लागि दिएको तीन सयभन्दा बढी निवेदन रोकिदिएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन आचारसंहिताविपरित हुने खालका काममा अनुमति पाउँ भनी दिएको निवेदनहरू रोकिदिएको प्रष्ट पारे । 

उनले कर्मचारी सरुवा, बढुवा, नयाँ नियुक्ति, नयाँ भवन शिलान्यास, उद्घाटन, अनावरणलगायतका विषयमा सरकार र मातहतका निकायले दिएको निवेदन निर्वाचन आचारसंहिताविपरित भएकाले त्यस्ता खालको काममा अनुमति नदिइएको बताए ।
००००
विगत २४ घण्टामा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार पाँच सय ७१ परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको छ ।
००००
सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानी घर भई सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत ३० वर्षीय साजन कार्कीलाई गोली प्रहार गरी घाइते बनाएको अभियोगमा ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकौला गाउँपालिका–१ बस्ने ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र सहनी, भारत बिहार तरयानी छप्रा–८ बस्ने १९ वर्षीय रेहान भन्ने आलोक सिंह, भारत बिहार सुलतानपुर–१० बस्ने १९ वर्षीय सौरभकुमार यादव र भारत बिहार हराज–१२ बस्ने १९ वर्षीय गुलसनकुमार सिंह रहेका छन् ।
००००
जनता समाजवादी पार्टी (जसपा)ले बागी उम्मेदवारी दिएका नेताहरूलाई कारबाही गरेको हो । जसपाले बिहीवार विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी दिएकालाई कारबाही गरेको जानकारी दिएको छ । 
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जसपाले केही जिल्लामा नेकपा एमालेसँग तालमेल गरेको छ । एमालेसँग तालमेल गरिएका केही निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी परेको र उक्त उम्मेदवारी फिर्ताका लागि दिइएको निर्देशनको पालना नगरेकाले कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
००००
अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो ‘फेसबुक अकाउण्ट डिएक्टिभ’ गरेकी छन् । पछिल्लो समय उनको श्रीमानसँग सम्बन्ध राम्रो नरहेको खबर सार्वजनिक भइरहेको छ । साथै, उनले बुधबार भूकम्प आएपछि डरले ‘मिनी हार्टअट्याक’ भएको फेसबुकमा स्टाटस् कोरेकी थिइन् । पछि उनले फेसबुक पोस्ट पुनः सम्पादन गर्दै भूकम्पको कारण आफूलाई ‘मिनी–हार्ट अट्याक’ भएको उल्लेख गरेकी थिइन् । 

उनै वर्षाले बिहीवारदेखि आफ्नो फेसबुक डिएक्टिभ गरेकी हुन् । उनले, फेसबुक डिएक्टिभ गर्नुको कारण खुलेको छैन । यद्यपि, उनले फेसबुक डिएक्टिभ गर्नुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ३८ अंकले ओरालो लागेर एक हजार आठ सय ४४ दशमलव १४ मा सीमित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्