
भक्तपुर भेलुखेलमा तिहारअगाडि नै भकारीमा धान भित्र्याउन भ्याइनभ्याई भएको छ । लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका किसानहरू यतिबेला धान भित्र्याउन लागि परेका हुन् । उनीहरूको दैनिकी यतिबेला धानकै ओल्टाइपल्टाइमा बित्ने गरेको छ ।
भक्तपुरको भेलुखेल टोलका करिब ५० घर परिवारले एकै ठाउँमा बिस्कुन सुकाउँछन् । खेतका गह्रालाई आलीले छुट्टाएजस्तै स्थानीयवासीले खाली ठाउँ छोडेर बिस्कुन सुकाएको दृष्य यतिबेला देख्न सकिन्छ । यहाँका खाली चोक तथा आँगन धानले भरिएको देख्न सकिन्छ । सडक किनारमा सुकाइरहेको धान नियालेर यहाँ घुम्न आउने पर्यटकसमेत रमाएको देख्न सकिन्छ । धानको धुलोको बेवास्ता गर्दै पर्यटकहरू किसानको जीवनशैलीमा रमाएका छन् । स्थानीयहरू मिलेर धान सुकाउने र उठाउने गर्छन् ।
भेलुखेलमा मात्र होइन भक्तपुरका खाली ठाउँमा अचेल यसैगरी धान सुकाएको देखिन्छ । चरा, कुखुराबाट जोगाउन उनीहरू धान सुकाएको स्थानमा कुरेर बस्छन् । धान सुकाउन आउनुभएकी स्थानीय रामलक्ष्मी तिमानायले समयमै मल नआउँदा यस वर्ष विगतको तुलनामा धान कम फलेको बताए । उनले अन्त धान सुकाउन घाम कम लाग्ने भएकाले किराबाट धान जोगाउन धान सुकाउनु परेको बताए ।
त्यस्तै अर्का स्थानीय हरिप्रसाद मोहलाले सबै मिलेर धान सुकाउने गरेको बताए । उनले समयमा नै बीउ र मल नआइपुग्दा विगतको तुलनामा यसवर्ष धान धेरै फल्न नसकेको गुनासो गरे ।
पहिला धान चोरी हुने डरले मानिसहरू धान सुकाएकै स्थानमा सुत्थे । अहिले भने सुकाएकै ठाउँमा धानलाई त्रिपालले छोपेर छोड्छन् र ढुक्कले घरमा सुत्छन् । राम्रोसँग नसुकाई भण्डारण गर्दा धानमा किरा लाग्ने, बिग्रिने गर्दछ । त्यसैले धानलाई राम्रोसँग सुकाउन उनीहरूले खुला ठाउँलाई उपयोग गरेका हुन् ।