
सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार भगवती चौधरीले हिंसालाई पश्रय दिने अभिव्यक्ति दिएकी छन् । बिहीवार इटहरी १४ मा आयोजित वडास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै हिंसालाई पश्रय दिने अभिव्यक्ति दिएकी हुन् ।
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग प्रतिष्पर्धा गरिरहेकी चौधरीले आगामी निर्वाचनमा कुनै पनि हालतमा धाँधली हुन नदिन अपिल गरिन् । धाँधली गरेर वा षडयन्त्रपूर्वक चुनाव जित्न खोजिए त्यसलाई प्रतिकार गर्न निर्देशन दिँदै चौधरीले भनिन्, ‘त्यस्तो अवस्था आइपरे म नै सबैभन्दा पहिले गोली ठोक्छु, छुरा रोप्नु परे रोप्छु ।’
कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले भनिन्, ‘म भन्छु, मरता क्या नही क्या करता । अन्तिम अवस्थामा त्यस्तो भयो भने, त्यस्तो चुनौती आयो भने म स्वयं भन्छु भगवती चौधरी म उम्मेद्वार हुँ । यदि साँच्चिकै मानेन त्यहाँ धाँधली र गलत प्रक्रियाहरु, दुस्प्रयास भयो भने त्यसलाई तोड्नका लागि पहिलो फायरिङ मैले नै गर्छु । हाम्रा कार्यकर्ता पनि हरेक बुथमा । हरेक लाइनमा । हरेक गाउँमा कहाँ गडबढ हुँदैछ । त्यहाँ धारिलो छुराजस्तो भएर हामी कार्यकर्ता ओराल्छौँ ।’
चौधरी र गच्छदारबीच तेस्रोपटक चुनावी मैदानमा भेट हुँदैछ । यसअघि भएको दुई पटकको प्रतिष्पर्धामा गच्छदार विजयी बनेका थिए । गच्छदारले धाँधली गरेर जितेको आरोप भगवतीले लगाउदै आएकी छन । २०७४ को निर्वाचनमा धाँधली गरेर चुनाव जितेको आरोप लगाउँदै भगवती अदालत पनि गएकी थिइन । उक्त मुद्दा अहिले पनि विचाराधीन छ ।