
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलको गठबन्धन संविधान र परिवर्तन रक्षा गर्ने महाअभियान भएको बताएका छन् । अहिलेको लडाइँ अग्रगामी र पश्चगामीबीचको भएको उनले बताए ।
सत्ता गठबन्धनले बुटवलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता पौडेलले अहिलेको निर्वाचनको परिणाम जित/हार मात्र नभई राष्ट्र जोगाउँदै राष्ट्रिय स्थिरता र सुशासनका लागि भएको जिकिर गरे । उनले राष्ट्रिय स्थिरता र सुशासनका लागि गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरे ।
गठबन्धनका उम्मेदवार परिवर्तनको बाहक भएको भन्दै अतितका कुरा छाडेर नयाँ बाटोबाट नयाँ नेपाल बनाउने बताए । ‘यो राजनीतिक तालमेल र सत्ताको भागबण्डा नभई व्यवस्था बचाउने हो’, पौडेलले भने, ‘सहमति, सहकार्य र एकता आजको आवश्यकता हो त्यसलाई बिर्सन हुँदैन । अहिले हामी महान उद्देश्यका लागि समर्पित छौँ । जनतामा आएको सत्ता फुत्केर जान नदिन सबै सर्तक रहनुहोस् ।’