
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नं. ८ लाई मुलुकको सांस्कृतिक राजधानीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका उनले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा वसन्तपुर दरबार स्क्वायर र स्वयम्भु जोड्ने सम्पदा मार्ग निर्माण गर्ने बताए । उनले मुलुककै प्राचीन स्थानीय सम्पदाहरूको संरक्षण र पर्यटकीयस्थल ह्वाइट गुम्बा वरपर पुर्वाधार विकास गरी काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई नेपालको सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने बताए ।
निर्वाचन परिचालन समितिले काठमाडौंको डल्लुमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार स्क्वायर र स्वयम्भूलाई जोड्ने सम्पदा मार्ग निर्माण कार्य शुरु भइसकेको जानकारी दिए । स्वयम्भूदेखि हनुमानढोकासम्मका सम्पदाहरूलाई विश्व सामू चिनाउने र पर्यटन क्षेत्रको विकास गर्ने उनको भनाइ थियो ।
दुवै विश्व सम्पदाको बीचमा रहेका कयौं स्थानीय सम्पदाहरूको पहिचान र संरक्षणबाट उक्त क्षेत्र सांस्कृतिक राजधानीका रूपमा विकास हुने मन्त्री श्रेष्ठले बताए । सम्पदाको संरक्षण, पर्यटकीय क्षेत्रको विकास तथा त्यसमार्फत आर्य-आर्जन गरी स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने आफ्नो योजना रहेको उनले बताए ।