२६ जेठ २०८३, मंगलबार
प्रतिनिधिसभा निर्वाचन

विगतमा फराकिलो मतान्तर रहेको काभ्रे– २ : गोकुल बास्कोटा र शिव हुमागाईंमा को बलियो ?

‘सामाजिक सञ्जालमा भइरहेको अनुमानभन्दा भिन्न छ धरातलको यथार्थ’
कात्तिक ४, २०७९
विगतमा फराकिलो मतान्तर रहेको काभ्रे– २ : गोकुल बास्कोटा र शिव हुमागाईंमा को बलियो ?

राजनीतिक दलको शीर्ष नेता नभएपनि प्रतिनिधि सभा निर्वाचनका लागि देशका ‘हट सीट’मध्ये एक हो, गोकुल बास्कोटा चुनावी मैदानमा रहेको काभ्रे– २ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका गोकुलका प्रतिस्पर्धी ‘हेभी वेट’ उम्मेदवार पनि होइनन् । तर, काभ्रे– २ गोकुल बास्कोटाको चुनावी क्षेत्रको रूपमा परिचित छ । 

केपी ओली प्रधानमन्त्री रहेको सरकारका पालामा धेरै बजेट गएको क्षेत्रमध्ये काभ्रे– २ पनि एक हो ।

ओलीको निर्वाचन क्षेत्र झापा– ५, विष्णु पौडेलको क्षेत्र रुपन्देही– २, महेश बस्नेतको भक्तपुर– २ र गोकुलको काभ्रे–२ मा रकमान्तर गरेर बजेट लगिएको भन्दै तत्कालीन विपक्षी दलले संसदमा विरोध गरेका थिए । 

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काभ्रे २ मा मुख्य प्रतिस्पर्धा एमाले उम्मेदवार बास्कोटा र नेपाली कांग्रेसका शिव हुमागाईंबीच हुँदैछ । 

पाँच वर्ष सांसद बन्दा गरेको काम र काभ्रेमा भएको विकासको आधारमा चुनाव जित्ने बास्कोटाको विश्वास छ भने हुँमागाईंलाई गठबन्धनको भर छ ।

नेकपा एमालेले बास्कोटाको निर्वाचन क्षेत्र काभ्रे– २ लाई ‘ग्रीन जोन’मा राखेको छ ।

दुई प्रभावशाली नेताबीच हुने भिडन्तले काभ्रेको चुनावी मैदानलाई रोमाञ्चित बनाइदिएको छ । 

निर्वाचन क्षेत्रमा कमजोर छैनन् गोकुल

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका बास्कोटा पहिलोपटक सांसद बनेलगत्तै मन्त्री बने । 

नेकपा एमाले नेतृत्वको सरकारको बेला बास्कोटा सञ्चारमन्त्री एवं सरकारको प्रवक्ता थिए । टर्रो बोलीका कारण सरकारको प्रवक्ताको रूपमा उनी चर्चामा रहे । 

मन्त्री रहेको समयमा बास्कोटाका ‘डायलग’ विपक्षी दलका कार्यकर्ताका लागि पनि चर्चा योग्य बने ।

आफू सरकारबाट बाहिरिएको र पछि एमाले पार्टी समेत सरकारबाट बाहिरिएको अवस्थामा पनि गोकुल पार्टी र सरकारको प्रतिरक्षा गर्न अग्रपंक्तिमा उभिए । एमालेको सरकार हुँदा निर्वाचन क्षेत्रमा बजेटको बाढी लगाए । 

‘काभ्रेको विकासका लागि गोकुल बास्कोटाले यसअघिका सांसदले गर्न नसकेको काम गरेका छन्, गाउँ–गाउँसम्म पूर्वाधार विकास भएका छन्,’ आफूहरूले चुनाव जित्ने आधार पेश गर्दै एमाले काभ्रेका एक नेताले लोकान्तरसँग भने, ‘राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने र केन्द्रमा राम्रो पहुँच भएकाले पनि उहाँलाई मतदाताले छान्छन् ।’ 

काभ्रे– २ मा भएको विकासलाई विपक्षी नेताहरूले समेत अस्वीकार गर्न सकेका छैनन् । बनेपा, पनौती, धुलिखेल र पाँचखालमा खानेपानीका ठूला आयोजना, सूर्यविनायक धुलिखेल राजमार्ग विस्तार, ग्वार्को–कुशादेवी–पनौती सडकलाई राजमार्गको रूपमा विकास जस्ता कामले बास्कोटा काभ्रेमा परिचित छन् ।

मदन भण्डारी प्राविधिक विश्वविद्यालय र प्रतिरक्षा विश्वविद्यालय काभ्रेमा लैजान गरेको पहल पनि गोकुलका चुनावी एजेण्डा बन्दैछन् ।

हुमागाईंलाई गठबन्धनको भर, पार्टीभित्रै चुनौती

सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका शिव हुमागाईं २०५६ सालमा सांसद बनेका थिए । 

सत्ता गठबन्धनको समर्थन रहेका कारण हुमागाईंले काभ्रेमा एमालेको लालकिल्ला तोड्ने योजना बनाएका छन् । स्थानीय तह निर्वाचनमा वडास्तरमा पाएको मतलाई आधार मान्दा गठबन्धन बलियो देखिन्छ । तर, मत कत्तिको ट्रान्सफर हुन्छ भन्ने कुरा उनका लागि चिन्ताको विषय छ ।

गठबन्धनको साझा उम्मेदवार भएपनि गठबन्धन सरकारको कार्यशैली समेत हुमागाईंका लागि चुनौती बनेको छ । तरकारी, आलु र गहुँ छर्ने समयमा काभ्रेमा भइरहेको रासायनिक मलको चरम अभावका बारेमा मतदाताले हुमागाईंलाई प्रश्न गरिरहेका छन् । सत्ता पक्ष भएकाले यी प्रश्नको जवाफ दिनुपर्ने बाध्यतामा छन्, उनी ।

आफ्नै पार्टीभित्रको असन्तुष्टि पनि उनका लागि चुनौतीको विषय हो । विगतमा पार्टीकै अन्य नेता उम्मेदवार हुँदा सहयोग नगरेको आरोप उनीमाथि लाग्ने गरेको छ ।

हुमागाईंका लागि कांग्रेसकै नेताहरू अहिलेसम्म भित्रदेखि खुलेर प्रचारमा लागेका छैनन् । 

यस्तो छ चुनावी अंकगणित 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेर गोकुल विजयी भएका थिए । 

गोकुलले ५४ हजार ४ सय २७ मत पाउँदा प्रतिद्वन्द्वी कांग्रेसका मधु आचार्यले ३६ हजार ५ सय ७९ मत प्राप्त गरेका थिए । दुई उम्मेदवारबीचको मतान्तर १७ हजार ८ सय ४८ थियो । 

वैशाख ३० गते सम्पन्न स्थानीय तहको वडा तहको मतमा पनि एमाले अगाडि छ । एमालेको ४५ हजार ५ सय १४ मत छ भने कांग्रेसको ४५ हजार ४ सय ५६ मत छ । 

‘स्थानीय तहको मतलाई प्रतिनिधिसभाको चुनावमा तुलना गर्नु उपयुक्त हुँदैन । उम्मेदवारको व्यक्तिगत क्षमता र प्रभावका आधारमा मतदाताले भोट हाल्छन्,’ काभ्रेका एक शिक्षकले लोकान्तरसँग भने, ‘सामाजिक सञ्जालमा हुने चर्चा र यहाँको भूधरातलीय यथार्थ फरक छ ।’

काभ्रे– २ मा १ लाख ५७ हजार ४ सय ४२ मतदाता छन् । 

salt training

कमेन्ट गर्नुहोस्