रुसको आक्रमणलाई प्रतिकार गर्नका लागि युरोपका साझेदारहरूले लगातार हतियार सहयोग गरिरहेको भए पनि अब उनीहरूको भण्डार रित्तिन थालेको छ ।
युक्रेनलाई आफूसँग भएको सबै हतियार दिँदाखेरी रुसको आक्रमण भएको खण्डमा कसरी जोगिने भनी युरोपेलीहरूले पीर मान्न थालेका छन् ।
महिनौंदेखि अमेरिका र नेटोका सदस्यहरूले युक्रेनलाई अर्बौं डलर बराबरको हतियार र सैन्य सामग्री उपलब्ध गराइरहेका छन् । तर नेटोका साना मुलुक र ठूलै मुलुकमा समेत हतियार भण्डार घट्न थालेको छ ।
केही साझेदारहरूले सोभियतकालीन जगेडा हतियार सिध्याइसकेका छन् र अमेरिकी हतियारमार्फत त्यसलाई विस्थापित गर्नेछन् ।
फेब्रुअरी महिनादेखि अहिलेसम्म अमेरिकाले युक्रेनलाई १७.५ अर्ब डलरभन्दा बढीको प्रतिबद्धता गरेको छ । अमेरिकी सांसदहरू पनि देशले युक्रेनका लागि बढी नै खर्च गरिरहेको हो कि भनी प्रश्न उठाउन थालेका छन् ।