![भृकुटीमण्डपमा रोटीका ५० परिकार [फोटोसहित]](https://lktcdn2.prixacdn.net/media/roti_mahotsav_LhJMOTMetq.jpg)
काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौँ राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ । तिहारको अवसर पारेर सुदूरपश्चिमका थर्कबहादुर साहले काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौँ राष्ट्रिय रोटी मेलाको आयोजना गरेका हुन् ।
साहले बर्सेनि तिहारको अवसरमा रोटी मेला आयोजना गर्दै आएका छन् । मेलामा विभिन्न जातजातिहरूको विभिन्न पर्वमा प्रयोग गर्ने रोटी तथा मिठाइका परिकारहरू राखिएका छन् । मेलाका आयोजक साहले लोप हुँदै गएका नेपाली रैथाने रोटीहरूको संरक्षण गर्नको लागि रोटी मेला आयोजना गरिएको बताए । उनले विभिन्न जातजाति अनुसारका रोटीहरूमा पर्यटन तथा ग्राहकहरूको आकर्षण देखेर रोटीको संरक्षणमा लागेको बताए ।
साहले पहिलो पटक रोटी मेला गर्दा २० परिकार भए पनि अहिले थपिएर ५० प्रकारका रोटी प्रदर्शनीमा राखिएको बताए । उनले नेपालमा १०० भन्दा बढी परिकारका रोटीहरू बनाउन सकिने सम्भावना रहेको दाबी गरे ।
त्यस्तै, रोटी मेला अवलोकन गर्न आउनेहरूले नेपाली रैथाले रोटीहरूको संरक्षण गर्न रोटी मेलाको आवश्यकता रहेको बताए । मेला अवलोकनकर्ता टंक तिमिल्सिनाले मेला राम्रो भए पनि खाने रोटीहरू गुणस्तर भए÷नभएको सरकारी निकायले प्रमाणित गरेर प्रर्दशनी गर्नु राम्रो हुने सुझाव दिए ।
त्यस्तै हरिप्रसाद अधिकारीले नेपाली विभिन्न जातजाति र ठाउँअनुसारका रोटीका प्रकार एकै ठाउँमा देख्न र खान पाउनु राम्रो भएको प्रतिक्रिया दिए ।
पाँचौँ रोटी मेलामा सेलरोटी, फिनिरोटी, रातो पुरी (नेवारी), दंगाली स्वारी रोटी, सेतो पुरी, भुने रोटी, अनरसा सेतो (दंगाली), कागती रोटी, निमकिन रोटी, अनरसा (नेवारी), रोट रोटी, अरसा रोटी, मधेशको मठरी, भक्काने रोटी, कोदोको सेलरोटी, शेर्पा रोटी रिकीकर, सिनकामरी, खुरमालगायतका रोटीहरू राखिएका छन् ।










