
संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसको अवसर पारेर विश्व शान्ति स्थापना कार्यमा नेपाल र नेपाली सेनाको सहभागिता तथा योगदानको स्मरणमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिएको छ । उक्त समारोहमा मुख्य सचिव शङ्करदार वैरागीले संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७७ वर्ष पुगेको साथै राष्ट्रसङ्घमा नेपालको ६० वर्ष लामो सदस्यता तथा विश्व शान्ति स्थापनामा नेपालको ६४ वर्ष लामो सहभागिताको स्मरण गराए ।
उनले सन् १९५५ बाट संयुक्त राष्ट्रसङ्घको सदस्य भएदेखि नै नेपालको विकासका लागि सङ्घ एक महत्वपूर्ण साझेदारको रुपमा रहेको तथा संयुक्त राष्ट्रसङ्घ र यसका एजेन्सीहरूले अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सहस्राब्दी विकास लक्ष्य तथा दिगो विकास लक्ष्य हासिल गर्ने प्रयासमा पु¥याएको योगदानको प्रशंसा गरे । मुख्य सचिव वैरागीले नेपालद्वारा संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना कार्यमा चुनौतीपूर्ण परिस्थिति तथा स्थानमा खटिई आफूलाई व्यावसायिक, दक्ष र भरपर्दो शान्ति सैनिकको रुपमा ख्याति र प्रतिष्ठा कमाउन सफल रहेको भन्दै नेपाली सेनाको प्रशंसा गरे । उनले भविष्यमा पनि विश्व शान्ति स्थापनार्थ शान्ति सैनिकहरुको दक्षता अभिवृद्धिलाई प्राथमिकता दिई महिला शान्ति सैनिकहरुको सङ्ख्या वृद्धि गर्दै संयुक्त राष्ट्रसङ्घको आवश्यकताअनुसार १० हजारसम्म शान्ति सैनिकहरु खटाउन नेपाल सरकार कटिबद्ध रहेको उल्लेख गरे ।
समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले विश्व शान्ति स्थापनार्थ आफ्नो जीवन आहुती दिने शान्ति सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली शान्ति सैनिकहरुले विश्व शान्ति स्थापनार्थ जटिल वातावरण र चुनौतिका बाबजुद अब्बल सावित गर्दै आएको स्मरण गराए । उनले विश्व शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरुको छ दशक लामो सक्रिय संलग्नतामा नेपालले सदैव दक्ष, व्यवसायिक तथा विशेषज्ञ शान्ति सैनिकहरु प्रदान गर्दै आएको र संयुक्त राष्ट्रसंघको लैङ्गिक समानता रणनीति–२०२८ अनुरुप पछिल्ला केही वर्षमा महिला शान्ति सैनिकहरुको सहभागितामा वृद्धि गर्नुका साथै भविष्यमा समेत उक्त वृद्धि जारी रहने उल्लेख गरे ।
सेमिनारमा विश्व शान्ति स्थापनामा नेपाली सेनाले पु¥याएको योगदान तथा उपलब्धिहरु समेटिएको कफी टेबल बुकको प्रधानसेनापति शर्मा र विशेष अतिथिको रुपमा सहभागी संयुक्त राष्ट्रसङ्घ मुख्यालका सैनिक सल्लाहकार जनरल विरामे डोयपेले संयुक्त रुपमा विमोचन गरेका थिए ।