
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली गरी कूल संख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक प्रणालीको मतपत्र धमाधम ढुवानी भइरहेको छ ।
००००
नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र छठपछि सार्वजनिक गर्ने तयारी गरेको छ ।
एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरु अध्ययन गरिरहेको र चाडपर्व सकिने बित्तिकै घोषणपत्र सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए। नेपाली कांग्रेसले भने सोमबार घोषणापत्र सार्वजनिक गर्दैछ ।
००००
यसैबीच नेपाल समाजवादी पार्टीले १२ वटा वाचासहित चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष डा बाबुराम भट्टराईले आइतवार काठमाडौंमा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
नेसपाले लोकतन्त्रको लोकतान्त्रीकरणका लागि १० वटा संकल्प पेश गरेको छ । पार्टीको आन्तरिक लोकतन्त्रका लागि सबै तहमा ‘प्राइमरी इलेक्सन’को व्यवस्था गर्ने उल्लेख छ ।
००००
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भइरहँदा एक खेलाडीको मृत्यु भएपछि बन्द गरिएको प्याराग्लाइडिङ उडान एक सातापछि खुलेको छ । पोखरामा उडानका क्रममा नेपाली सेनाका खेलाडी निसिम थापाको मृत्यु भएपछि देशैभर बन्द गरिएको उडान खुला गरिएको हो । थापाको असोज ३० गते मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैंभरको प्याराग्लाइडिङ उडान बन्द गरेको थियो ।
प्राधिकरणले नियमित, व्यवस्थित र सुरक्षित उडान गराउने भन्दै बन्द गराएको उडान आइतवारबाट खुलेको छ । ३० गते उडान बन्द गरेको ४ दिनपछि कात्तिक २ गते प्राधिकरणले उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो ।
००००
नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
अदालतले चौथोपटक २ दिन म्याद थपका लागि अनुमति दिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले लोकान्तरलाई जानकारी दिए ।
००००
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा सत्ता गठबन्धनको संयुक्त भेला भएको छ । यसअघि पोखरा, बुटवल, विराटनगर र जनकपुरमा भेला सम्पन्न गरिसकेको गठबन्धनले बुधबार सुर्खेतमा गरेको हो । आइतबार नै धनगढीमा भेला भएको छ ।
गठबन्धनले सातै प्रदेशमा चुनावी भेला गर्नेगरी चुनावी कार्यक्रम बनाएअनुसार भेला हुँदै आएको हो ।
००००
संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसको अवसर पारेर विश्व शान्ति स्थापना कार्यमा नेपाल र नेपाली सेनाको सहभागिता तथा योगदानको स्मरणमा आइतबार सैनिक मुख्यालय जङ्गी अड्डामा अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिएको छ ।
उक्त समारोहमा मुख्य सचिव शङ्करदार वैरागीले संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७७ वर्ष पुगेको साथै राष्ट्रसङ्घमा नेपालको ६० वर्ष लामो सदस्यता तथा विश्व शान्ति स्थापनामा नेपालको ६४ वर्ष लामो सहभागिताको स्मरण गराए ।
००००
रुपन्देहीमा सञ्चालित पाँच ठूला स्टिल उद्योग अनिश्चितकालका लागि बन्द भएका छन् । सरकारले स्टिलको कच्चापदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्तःशुल्कमा ल्याएको विभेदकारी नीतिका कारण उत्पादन लागत बढ्दै गएपछि उद्योग बन्द गर्नु परेको उद्योगीहरूको भनाइ छ । पाँच उद्योग बन्द हुँदा यसमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आश्रित करिब दुई हजार मजदुर बेरोजगार हुने अवस्थामा पुगेका छन् ।
००००
निर्वाचन आयोगलले आचारसंहिताविपरीत प्रचार–प्रसारका क्रममा भएका गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण सोध्ने क्रमलाई निरन्तरता दिएको छ । आयोगले सरकारी गाडी प्रयोग गरेको विषयमा खानेपानीमन्त्री एवं प्रतिनिधिसभा सदस्यका बारा क्षेत्र नं १ का उम्मेदवार उमाकान्त चौधरीलाई स्पष्टीकरण सोधेको हो ।
००००
गृहमन्त्री बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले सुरक्षाका धेरै चुनौतीहरू रहे पनि सुरक्षा निकायहरूका साझा र संयुक्त प्रयत्नले निर्वाचन सफलतापूर्वक सम्पन्न हुने बताए ।
आइतवार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय निर्वाचन केन्द्रित सुरक्षा गोष्ठी कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा देखिएको जटिलताहरूलाई हल गर्न सरकारले सुरक्षा निकायहरूसँग आवश्यक सहजीकरणको काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । गृहमन्त्री खाणले सुरक्षाकर्मी र सुरक्षा निकायलाई अत्याधुनिक बनाउने कामलाई सरकारले अझै प्राथमिकताका साथ अघि बढाउने पनि बताए ।
००००
अस्ट्रेलियामा चलिरहेको टी२० क्रिकेट विश्वकपमा आइतवार भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ ।
अन्तिम बलमा मात्र निर्णय भएको खेल निकै रोमाञ्चक रह्यो । भारतको विजयमा विराट कोहली नायक रहे । उनले ५३ बलमा अविजित ८२ रन बनाएर टीमलाई जीत दिलाएका हुन् ।
००००
साताको पहिलो तथा तिहार अघिको अन्तिम कारोबारको दिन नेप्से परिसूचक १४ अंकले बढेको छ । पछिल्लो समय लगातार रुपका गिरावट हुँदै आएको नेप्से परिसूचक आईतवार १४.३५ अंकले बढेर बन्द भएको हो । त्यस्तै सन्सेटिभ इण्डेक्स ०.७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंकले र सेन्सेटिभ इण्डेक्स ०.८६ अंक बढेको छ ।