
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आगामी चुनावमा अग्रगामी शक्ति र राजतन्त्रलाई फर्काउन चाहने शक्तिको बीचमा प्रतिस्पर्धा भइरहेको बताएका छन् ।
सोमवार काठमाडौंमा सत्तारूढ गठबन्धनले आयोजना गरेको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले एमालेले राजतन्त्र फर्काउन चाहने शक्तिको नेतृत्व गरेको दाबी गरे ।
‘बाख्रा–बाख्रासँग र भेडा–भेडासँगै हुने हो । प्रतिगमन गर्ने, राजतन्त्र फर्काउन चाहनेहरूको एउटा गठबन्धन भएको छ । परिवर्तनका पक्षहरूहरूको अर्को गठबन्धन भएको छ । हामीले परिवर्तन पक्षधरको गठबन्धन बनाएका छौँ । त्यहाँको गठबन्धनको अनुहार हेर्नुहोस् र यताको गठबन्धनमा को–को छन हेर्नुहोस्’, पौडेलले भने ।
देशलाई सुशासन दिएर अघि बढाउन सक्ने नैतिक शक्ति भएका व्यक्तिहरूको गठबन्धन बनेको पनि पौडेलले बताए ।
‘चुनाव केबल सत्ताको लागि मात्रै होइन । देशमा व्यवस्था बदलिएको तर, अवस्था बदलिन सकेको छैन । अवस्था बदल्नको लागि अबको चुनाव हो । देशलाई रुपान्तरण गर्न आवश्यक छ’, उनले भने, ‘आगामी चुनावमा को कांग्रेस, को माओवादी, को समाजवादीको उम्मेदवार भन्ने नै छैन । गठबन्धनले निर्णय गरेर पठाएपछि गठबन्धनको उम्मेदवार हो ।’