
यमपञ्चकको दोस्रो दिन कुकुर तिहारका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग केनाइन कार्यालय महाराजगञ्जमा आयोजित कार्यक्रमबीच सोमवार कुकुर पूजा सम्पन्न भएको छ ।
कार्यालयकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरूङले कार्यालयमा रहेका विभिन्न तालिम प्राप्त कुकुरहरूलाई पूजा गरे ।
उनले यस वर्षको उत्कृष्ट कुकुर ‘पप्पी’, सोमवार भएका प्रतियोगितामा दौडमा उत्कृष्ट हुने कुकुर ‘रुरु’, हाइजम्पमा उत्कृष्ट हुने कुकुर ‘रिया’ र बाधापारमा उत्कृष्ट हुने कुकुर ‘रोज’लाई पुरस्कार तथा मेडल प्रदान गरे ।
उक्त अवसरमा प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले स्वागत मन्तव्य व्यक्त गर्दै विभिन्न स्थानको अपराध अनुसन्धान गर्न नेपाल प्रहरीका कुकुरहरूले पुर्याएको सहयोगबारे जानकारी दिएका थिए ।
कार्यक्रममा कार्यालयमा रहेका तालिम प्राप्त कुकुरहरूले बाधापार, ट्रयाकर डगको काम, रेस्क्यू डगको काम, रनिङ कम्पिटिसन, हाइजम्प कम्पिटिसन, सबुदको खोजी कार्य, अपराधीको खोजी एवं पहिचान, हातहतियार तथा विस्फोटक पदार्थ खोजी एवं पहिचान, लागूऔषध खोजी एवं पहिचान, रिमोट कन्ट्रोल कला प्रदर्शनी, डग आकृति बनाउने, आज्ञापालन कला प्रदर्शनी लगायतका कार्यहरू गरेका थिए ।


नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यका साथ विगत लामो समयदेखि अपराध अनुसन्धान लगायतका कार्यमा तालिमप्राप्त कुकुरहरूको प्रयोग हुँदै आएको छ । सोही अवसरमा प्रदेशका केनाइन कार्यालयहरूमा समेत सोमवारै कुकुर पूजा गरिएको थियो ।
कार्यक्रममा प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू एवं स्थानीय वासिन्दाको समेत उपस्थिति रहेको थियो ।
