
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको हस्तक्षेप नगर्ने बताएका छन् । नेपाल प्रेस युनियनले तिहारलगायतका चाडपर्वको अवसर पारेर सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रतामार्फत् जनताको अधिकारलाई स्थापित गराउन पनि सरकार लागि परेको बताए ।
प्रधानमन्त्री देउवाले जनताको अधिकार सुरक्षित हुने काममा कुन पार्टीले बढि काम गरेको छ भन्ने कुराबारे सञ्चार क्षेत्रले जानकारी गराउनुपर्ने बताए ।
‘प्रेस स्वतन्त्रता प्रजातन्त्रका लागि अति आवश्यक कुरा हो । जुन देशमा प्रजातन्त्र छैन, त्यो देशमा प्रेस स्वतन्त्रता सुनिश्चित हुन सक्दैन । पत्रकार साथीहरुले प्रेस स्वतन्त्रताका लागि लड्ने अठोट जबसम्म रहन्छ, तबसम्म प्रेसमाथि कसैले पनि बन्देज लगाउने सक्दैन । यसबेला प्रेस फ्रिड्म, प्रजातन्त्रका लागि अति आवश्यक कुरा हो । हाम्रो पार्टी नेपाली कांग्रेस पनि प्रेस स्वतन्त्रताको पूर्णरुपले पक्षपाती छ । हाम्रो पार्टीले, सरकारले पनि प्रेसप्रति कुनै पनि किसिमको बन्देज वा अप्ठ्यारा आउने कुनै पनि गर्ने छैन । प्रेसलाई निर्वाध रुपमा लेख्ने वातावरण दिनेछ । म फेरि पनि मे भन्न चाहन्छु भने जो सरकार छ अहिले । त्यो सरकारले प्रेसमाथि कुनै पनि किसिमको हस्तक्षेप गर्नेछैन’, देउवाले भने, ‘प्रेस स्वतन्त्रतालाई, लेख्न पाउने अधिकारलाई सुनिश्चित गर्नेछ । हिजोको कुरा के भयो भनेर म समय खर्च गर्न चाहन्न । तर, अहिले जो गठबन्धनको सरकार छ । यो सरकारले प्रेसमाथि कुनै पनि किसिमको बन्देज लगाएको छैन । कुनै पनि किसिमको हस्तक्षेप गरेको छैन । कुनै पनि किसिमको अप्ठ्यारो पारेको छैन । त्यसै कारण अहिलेको जो गठबन्धनको सरकार छ । प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्ने कुरामा पनि एउटा सहमति गरेका हौँ । प्रेस स्वतन्त्रता भएमात्रै समाजमा भएका कुराहरु ल्याउन सक्दछ । त्यसैले अझै धेरै कुराहरु गर्न बाँकी नै छ ।’
प्रधानमन्त्री देउवाले जनता देशको मालिक भएकाले उनीहरुले गर्ने निर्णयको आधारमा सरकार र राजनीतिक दलहरु चल्नुपर्ने स्पष्ट पारे । उनले प्रेसले पनि जनतालाई सुसूचित गराउने, जागरण ल्याउने काममा सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्तासमेत औँल्याए ।