०३ साउन २०८३, आइतबार
जेलबाट निस्केर चोरीमा

जेलभित्र जानेको 'आइडिया' : ६५ हजारमा रक्सौलबाट पेस्तोल ल्याएर नेताको घरमा डकैती !

कात्तिक ८, २०७९
जेलभित्र जानेको 'आइडिया' : ६५ हजारमा रक्सौलबाट पेस्तोल ल्याएर नेताको घरमा डकैती !

काठमाडौं–भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरमा रहेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीका भक्तपुर अध्यक्ष श्यामकुमार बस्नेतको घरमा भदौ २५ गते बिहान ३ बजे ३ जनाले हतियार देखाएर डकैती गरे ।

पेस्तोल र खुकुरीसहित आएका डाँकाहरूले गेट हुँदै मूल ढोका फुटाएर भित्र पसी हतियार देखाएर डकैती गर्दै थिए । कोठामा जाने क्रममा घरमा रहेका एक जना युवाले डाँकाहरूसँग भिडेर डकैती हुनबाट जोगाए । 

उनले हल्लाखल्ला गरेर छिमेकीलाई बोलाए, केही व्यक्तिहरू आएर डाँकाहरूलाई भगाएर प्रहरीलाई खबर गरे । केही समयपछि प्रहरी आयो तर डाँकाहरू भागिसकेका थिए । ती युवाले प्रहरीलाई हुलिया बताए । 

प्रहरीले सडकमा रहेको क्लोज सर्किट टीभी (सीसीटीभी) क्यामेरामा कैद भएको फूटेजको पनि अनुसन्धान गर्दै जाँदा लगभग १ महिनापछि अर्थात् असोज ३० गते २ जनालाई पक्राउ गर्‍यो । 

अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट उदयपुर, उदयपुरगढी गाउँपालिका–७ का ४१ वर्षीय अम्बरबहादुर मगरलाई चाँगुनारायणबाट र संखुवासभाको पाँचखपन नगरपालिका–८ का ३२ वर्षीय रविनकिशोर राई उर्फ सुवासलाई जोरपाटीबाट पक्राउ गर्‍यो ।

प्रहरीले उनीहरूको साथबाट ‘स्पेसल मेड इन इटाली’ लेखिएको पेस्तोल र त्यसको म्यागजिन १, गोली २ राउन्ड, खुकुरी लगायतका हतियार बरामद गर्‍यो ।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार अम्बरले भारतको रक्सौलमा गएर ६५ हजार रुपैयाँमा हतियार खरिद गरेर ल्याएको पाइएको छ ।

अम्बरबहादुर विगतमा डाँका मुद्दामा ४ वर्ष जेल परेका थिए ।

जेलमा बस्दा निर्माण व्यवसायी शरद गौचनको हत्या आरोपमा जेलमा रहेका व्यक्तिहरूको सम्पर्कबाट हतियार खरिदकर्तासम्म पुगेको देखिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताए ।

‘जेलमा बस्दा हतियार खरिदका लागि अम्बरलाई त्यहाँका व्यक्तिले सम्पर्क गराएको देखिएको छ,’ ती अधिकारीले लोकान्तरसँग भने ।

मानिसहरूलाई हतियार देखाएर लुटपाट गर्नका लागि रक्सौलबाट ६५ हजार रुपैयाँमा किनेर ल्याएको अम्बरले प्रहरीलाई प्रारम्भिक बयानका क्रममा बताएका एसपी कोइरालाले बताए । ‘अम्बरले भारतको रक्सौलबाट ६५ हजारमा पेस्तोल ल्याएको देखिएको छ,’ एसपी कोइरालाले भने ।

अम्बर २०७२ मंसिर ५ गते डाँका तथा हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले २०७३ पुस २४ गते उनलाई दोषी करार गर्दै १० लाख ५८ हजार ७७९ रुपैयाँ जरिवाना र ४ वर्ष १ महिना १५ दिन कैद सजाय सुनाएको थियो । उनलाई पहिला केन्द्रीय कारागार सुन्धारा राखिएको थियो । २०७४ असार १ गते उनलाई डिल्लीबजार कारागार सारिएको थियो ।

उनी जरिवाना बापतको कैद भुक्तान गरेर २०७६ पुस २० गते जेलबाट छुटेका थिए ।

‘तरकारी बेच्ने र बस्नेतको घरमा पैसा छ भन्ने अनुमान लगाएर डकैती गर्‍यौं’

गठ्ठाघरमा रहेको चोकमा एक तरकारी व्यापारीले व्यापार गर्दै आएका थिए । उनी श्याम बस्नेतको तल्लो तलामा बस्थे । तरकारी व्यापारीको कमाइबारे उनीहरूले लामो समय रेकी गरिरहेका थिए । यता श्याम राजनीतिक व्यक्ति र खानदानी भएकाले सुनचाँदी र पैसा भएको उनीहरूले पत्ता लगाएको प्रहरीलाई बताएका छन् ।

‘त्यो घरमा चोकमा राम्रो व्यापार हुने तरकारीवाला बस्थे । घरका धनी त राम्रो ‘माल’ भएका हुन् भन्ने हामीलाई थाहा थियो, त्यसैले त्यो घर रोजेका हौं,’ डकैतीको आरोपमा पक्राउ परेका अम्बरको भनाइलाई उदृत गर्दै अनुसन्धानमा खटिएका अधिकारीले लोकान्तरसँग भने ।

त्यो दिन श्याम बस्नेत घरमा नभएको समय पारेर उनीहरू बिहान ३ बजे डकैती गर्न पुगेका थिए तर त्यहाँ बस्नेतका एक आफन्त युवाले उनीहरूको डकैती असफल पारिदिएका थिए ।

कसरी पुगे हतियार किन्न रक्सौल ?

अम्बरले भारतको रक्सौलबाट हतियार किनेको प्रहरीलाई बताएका छन् तर उनी कसरी हतियार किन्न रक्सौल पुगे र काठमाडौंसम्म आइपुगे भन्ने विषयमा अनुसन्धान गरिरहेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए ।

अनुसन्धानमा खटिएका अधिकारीका अनुसार अम्बरले डिल्लीबजार र सुन्धारा कारागार कैद भुक्तान गर्दा निर्माण व्यवसायी शरद गौचनका हत्या आरोपीसँग सम्बन्ध राखेको र उनीहरूले हतियार बिक्री गर्ने गिरोहसँग पहुँच पुर्‍याएको देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्