
अमेरिकी संसद् हाउस अफ रिप्रेजेन्टेटिभ्सका ३० जना सांसदहरूले राष्ट्रपति जो बाइडनलाई युक्रेन युद्धका विषयमा नाटकीय रूपमा रणनीतिक परिवर्तन गर्न आग्रह गरेका छन् ।
बाइडनकै डेमोक्रेटिक पार्टीका सांसदहरूले रुससँग प्रत्यक्ष सम्झौता गर्न बाइडनलाई आग्रह गरेका हुन् ।
सोमवार ह्वाइट हाउसलाई एक पत्र पठाएर उनीहरूले यस्तो आग्रह गरेको द वाशिङटन पोस्ट पत्रिकाले खबर दिएको छ । युद्धका लागि थप अमेरिकी समर्थनको खोजी गरिरहेका बाइडनलाई आफ्नै सांसदहरूको यो तेवरले अप्ठ्यारो पार्ने देखिन्छ ।
जाडो महिना लागेपछि युक्रेनले रुसविरुद्ध प्रभावकारी युद्ध गर्न नसक्ने अनि मध्यावधि निर्वाचनपछि विपक्षी रिपब्लिकनहरूले संसदमा बहुमत ल्याउन सक्ने सम्भावनाले बाइडनलाई पिरोलिरहेको छ । रिपब्लिकनहरूले संसदमा बहुमत आएमा युक्रेनलाई दिँदै आएको सहायता रोक्ने बताएका छन् ।
संसदमा प्रगतिशील धारको प्रतिनिधित्व गर्ने समूहकी अध्यक्ष प्रमिला जयपालको नेतृत्वमा ३० सांसदले बाइडनलाई आर्थिक तथा सैन्य सहयोगसँगै सक्रिय कूटनीतिका लागि पहल गर्न आग्रह गरेका छन् । युद्धविरामको यथार्थवादी संरचना बनाउनका लागि प्रयास बढाउन उनीहरूले भनेका छन् ।
लामो समयसम्म भइरहेको युद्धका कारण हजारौंको मृत्यु भइसकेको छ र १ करोड ३० लाख मानिस विस्थापित भइसकेका छन् । यसलाई अन्त्य गर्नका लागि अमेरिकाले रुससँग नियमित संवाद नगरेकोमा डेमोक्रेटहरू विशेषरूपमा चिन्तित छन् ।
बाइडन प्रशासन चाहिँ रुससँग सम्झौता गर्ने कि नगर्ने अनि गरे पनि कहिले गर्ने विषयको निर्णय युक्रेन सरकारकै हातमा रहेको बताउँछ । युक्रेनीहरू स्वतन्त्र भएकाले आफ्नो भाग्यको निर्धारण आफैंले गर्नुपर्ने प्रशासनको अडान छ ।