
रुसी आक्रमणपछि देश छोडेर पलायन भएका युक्रेनीहरूलाई जाडो महिनामा घर नफर्किन युक्रेनी अधिकारीहरूले आग्रह गरेका छन् ।
प्रधानमन्त्री इरिना भेरेश्चुकले देशमा ऊर्जा संकट गहिरिँदै ग्एकाले अनावश्यक जोखिम नलिन तथा देशलाई बाँच्नका लागि सहयोग गर्न विदेशमा बस्ने युक्रेनीहरूलाई अनुरोध गरेकी हुन् ।
मंगलवार राष्ट्रिय टेलिभिजनमा बोल्दै भेरेश्चुकले युद्धभूमिमा रुसको पराजय भइरहेको दाबी गरिन् । त्यही कारणले रुस रिसाएर सर्वसाधारणलाई आतंकति गरिरहेको अनि युक्रेनको ऊर्जा संरचनालाई तारो बनाइरहेको उनको भनाइ छ ।
‘म तपाईंहरूलाई नफर्किन आग्रह गर्छु, हामी जाडोमा बाँच्नुछ । दुर्भाग्यवश, विद्युतीय ग्रिडहरू चल्नेछैनन् । रुसले के गरिरहेको छ, देखिरहनुभएकै छ । तपाईं स्वदेश आउनुपर्दैन । बाहिर बस्ने अवसर पाउनुभएको छ भने जाडो महिना उतै बस्नुहोला,’ उनले बताइन् ।
वसन्त ऋतु लागेपछि सबैजना फर्किएर युक्रेनी शहर तथा गाउँ बनाएको हेर्न चाहेको पनि उनले भनाइ राखिन् ।